kumari
stcnepal

प्रचण्ड, देउवा, ओलीजस्ता घाटेबैद्यले लोकतन्त्र मार्ने भए

 

राजन कार्की
लोकतन्त्र लोकतन्त्र जस्तो छैन । लोकतन्त्र लुटको धन फुपुको श्राद्ध बन्यो ।
समृद्धि, सुशासन, समानता, विधिको शासनका नाममा आएको थियो लोकतन्त्र । १८ वर्षमा त व्यक्ति पनि बालिग हुन्छ । नेपालको लोकतन्त्र बालिग हुनै सकेन । आलेकतान्त्रिक कुपोषणले लोकतन्त्र टाक्सिदै टाक्सिदै थलिएको क्षयरोगीको बिरामीजस्तै भएको छ । कुनै पनि बेला मृत्यु हुनसक्छ ।
ब्रम्हनालमा पुगेको बिरामी घाटे बैद्यको करामतले चमत्कार भएर कहिले कहिले बौरिएर फर्कन्छ । घाटे बैद्य बनेका उनै प्रचण्ड, देउवा, ओलीहरुले ब्रम्हनालमा पुगेको लोकतन्त्रको बचाएर ल्याउन सक्लान् त ?
किन पनि श्विास छेन भने यी राजनीतिक घाटे बैद्यहरु विषालु औषधिका पारखी छन्, यिनले दिएको स्वार्थको बिषालु औषधिले लोकतन्त्र बाँच्ने र बचेर घाटबाट फर्कने सम्भाबना झन झन क्षिण बन्दै गएको छ ।
८ वर्ष लगाएर लेखिएको संविधान कागजको खोस्टो भइसक्यो । २०७४ पछि २०७९ को निर्वाचनपछि यति धेरै काण्डहरु सार्वजनिक भए कि जनादेश त यिनका लागि सरकारी जग्गा, उद्योग र जग्गा, जहाजदेखि सुनसम्म, शरणार्थीदेखि लघुवित्त र सहकारीसम्म मात्र होइन, शरणार्थीका नाममा नागरिक बेच्ने लाइसेन्स सावित भयो ।
यस्ता द्रव्यपिचास, सत्तापिचास, शक्तिपिचास प्रवृत्तिले देशको बर्बादीमात्र हुने हो । सग्लो देशको अस्तित्व मटियामेट बनाउन यिनै कारक बन्ने पक्का छ ।
आज देश अराजक छ, अस्थिर छ । नेपालको राज्य सञ्जाल नै नागरिकलाई अनागरिक बनाएर मानव तस्करीमा संलग्न भएको छ । संसद, सडक र नेपाली समाजमात्र होइन, राष्ट्र संघ र अमेरिकालगायतका भुटानी शरणार्थीलाई स्वीकार गर्ने मुलुकहरु समेत वर्तमान राजनीतिक र प्रशासनिक नेतृत्वप्रति अविश्वास गर्ने अवस्थामा पुगेको छ । नेपाललाई विश्वले गिज्याउन थालिसक्यो ।
नेपालको साख धुलोपिठो बनाए शासक र प्रशासक मिलेर । यसलाई भनिन्छ, राज्यद्रोह, राष्ट्रघात । ठूला पार्टीका ठूला साना नेता र प्रशासकसमेत मानव तस्करीमा नराम्ररी बदनाम बनेका छन् । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता खत्तमै पारिदिए । यदि अन्य भ्रष्टाचारका ठूला साना घटना र भुटानी शरणार्थी मामिलामा दोषीमाथि कारवाही हुन सकेन भने नेपाल असफल राष्ट्रको भूमरीमा पर्नेमात्र होइन, बढ्दो विदेशी दबाब निर्णायकसमेत बन्न पुग्नेछ ।
लेखक डा.सुभाष काश्यप र विश्वप्रकाश गुप्ताले तयार गरेको राजनीतिक कोषमा राष्ट्रघातीमा क्विजलिङ र लेण्डुप दोर्जीको नाम उल्लेख छ । क्विजलिङ युरोपका थिए भने लेण्डुप १९७५ मा सिक्किम भारतमा बिलय गराउने नेता थिए । देश बेचुवाको अर्को नाम क्विजलिङ अथवा लेण्डुप दोर्जी भन्ने पर्याय यसरी चलेको देखिन्छ । नेपालमा तिनको नयाँ संस्करण बढेका छन् ।
१० वर्षे जनयुद्धका घाउहरू चर्किरहेकै छन् । संक्रमणकालीन न्याय व्यवस्था सम्पन्न भएको छैन । संविधान कार्यान्वयन भयो भनेर गफ हाँक्नेहरू हाँकिरहेका छन् । संविधान बनेर २०७४ पछि २०७९ मा पनि निर्वाचन भयो । राजनीति र प्रशासन संयन्त्र निर्वाचन र दलीयताको भ्रष्टाचारी दलदलमा पो फसेको देखियो । राष्ट्रिय मुद्दाहरू एकपछि अर्को थपिदैछन् । लोकतन्त्र आएपछिका १६ वर्षमा विदेशी हस्तक्षेप र चलखेल यसरी बढ्यो कि राजनीतिभन्दा विदेशनीति बढी देखिन थालेका छन् । अस्तित्वभन्दा पराधीनता बढेको छ । सत्ता र शक्तिको राजनीतिक भागबण्डाले अफिमको नशाजस्तै सत्ता र शक्तिको नशामा लठ्ठिन पुगेका नेताहरूले आफू उभिएको लोकमतको धरातलको नैतिक आधारसम्म पनि सुस्थिर राख्न सकेनन् । नेतृत्व अनैतिक सावित हुनपुगेका छन् । अब भन्न थालिएको छ– नेता भ्रष्ट हुनसक्छन्, पार्टी होइन । जनतालाई भ्रमित पार्न कति जानेका चटकेहरुले ।
जब विश्वासको संकट पर्छ, त्यतिबेला आशंकाको कालो बादलले घेर्छ । संसदको निर्वाचन, निर्वाचित सरकार र स्थायी सरकार प्रशासनले सुशासन र समृद्धि दिन सकेनन्, अनैतिकता बढी देखिदैछ । जनताले साथ दिए, मत दिए, विश्वास दिए । जनबल दिए । यो जनबल पाएकाहरुले त राष्ट्रघाती भ्रष्टाचारदेखि मानव बेचबिखन नै पो गर्नथाले । मतदान गर्न जनताको धर्म हो, धर्म निभाए । अभिभावकत्व दिनुपर्ने नेतृत्वले हो, नेतृत्व भ्रष्टाचारको भाङ्मा लठ्ठिन पुग्यो । यो दुःखद छ ।
आउन त सुशासन आउनुपर्ने हो, नेपाली संसार त दुर्गन्धपुर बन्यो । सडकदेखि समाचारसम्म संसद, सरकार र नेतृत्वप्रति घृणा व्यक्त भइरहेको छ । लोकतान्त्रिक नेपाल दुर्गन्धपुरजस्तो लाग्छ । स्वर्ग बनाउनेहरू कहाँनेर चुक भयो, कहाँनेर संवैधानिक सुधार आवश्यक छ, बहस नै गर्दैनन् । बस्, पार्टीकरण, राजनीतिकरण, व्यक्तिकरण र भ्रष्टीकरण यिनको एजेण्डा बनेको छ । लोकतन्त्रको उपहास उडाउने काम भइरहेको छ । लोकतन्त्र लूटतन्त्र हो भन्ने प्रमाणित भयो अब ।
जे नहुनु पर्ने त्यही भइरहेको छ । भ्रष्टाचार कहिले बिधिको शासन हुनसक्दैन । विधि निर्माताको पदमा बसेर ठेकेदारी चलाउन खोज्नेहरू सौ मुसा खाकर बिल्ली चली हजको चरित्र देखाइरहेका छन् । यस्तो चरित्रले नीति, नैतिकता र लोकाचार कायम रहनसक्दैन । निष्ठा नै नभएकालाई कानुन के, संविधान के ? संसद, सरकार र प्रशासनमा बस्नेले नङ्गा नाचे हजार दाउको प्रहसन देखाइरहेका छन् ।
सुशासन आउँछ भन्ने अपेक्षाले सुकेका आँतहरू आलै छन् । प्राकृतिक र पार्टी पीडित आँखा ओभाएका छैनन् । सुशासन आउँछ भनेको कुशासन बढ्यो । यो अति दर्दनाक यथार्थ हो । परिवर्तन भयो, हिन्दुराष्ट्र र राजतन्त्र फालेर आयो के ? नेतृत्वको असफलता र अकर्मण्यताको महगो मूल्य देश र जनताले चुकाइरहेका छन् । किनकि जनसेवक, देशभक्त कोही जन्मिन सकेनन् । महाराजा धेरै जन्मिए, राजनेता एकजना पनि उत्पादन हुनसकेन । लोकतन्त्रको कारखानाबाट भ्रष्टाचार उत्पादन भइरहेको छ । भ्रष्टाचार लोकतन्त्रका लागि नर्ककुण्ड हो, जहाँ हामी चोपलिएका छौं । नेपाली नेतृत्वले खनेको नर्ककुण्डमा बाँच्न अभिशप्त छन् ।
देशका परिवर्तनकारी शक्ति थिए, तिनीहरू सत्ता स्वार्थन्धहरू कहिले स्वाधीनता र नागरिक सर्वोच्चता, कहिले अर्जुनदृष्टि र अग्रगमनका कुरा गर्छन् । व्यवहारमा स्वार्थन्ध बनेर पराधीनताका पछि आँखा चिम्लेर दगुरिरहेका छन् । यही चरित्रका कारण कहालीलाग्दो अनिष्ठको काला बादल मडारिन थालिसक्यो ।
समयमै हामीले सत्य बुझ्न र अस्तित्वरक्षामा लागेनौं भने हातका सबै गुमाएर पुर्पुरोमा हात राखेर थक्क थक्क हुनुपर्ने दिन टाढा छैन ।
नेता सत्ताका पुजारी, सत्तालिप्साका भोका देखिए । यिनलाई देश र देशभक्तिप्रति कत्ति पनि आकर्षण छैन । यिनको उद्देश्य आर्थिक लाभ हो । देश र जनतामाथि किर्ना बनेर चुस्न पाइन्छ भने लम्पसार पर्न पनि तैयार देखिए हाम्रो नेतृत्व । कति दयनीय भयो राजनीति र प्रशासन सञ्जाल । मूल्याङ्कन नै गर्ने हो भने जोजति नेताहरू छन्, ती सबै बिसर्जनवाद, लम्पसारवादमा भिजेको देखिन्छ, ती कुनै पनि राष्ट्रघाती लेण्डुप, मिर्जाफर अथवा क्विजलिङ भन्दा कहाँ कम छन् र ? नीति हरायो, नैतिकता म¥यो । सिद्धान्त र प्रतिवद्धता केही बाँकी रहेन ।
पार्टी पंक्तिभित्र प्रचूर राष्ट्रवादी पनि छन् । तर तिनमा विद्रोह गर्ने हिम्मत छैन । विवेक छ, बोल्न सक्दैनन् । ती चोखा युवाहरू छायाँमा छन्, आँट गर्दैनन् ।
पार्टी नेतृत्व स्वार्थी, स्वार्थी नेतृत्वमा थिचिएका विवेकशीलहरु । अनि कसरी अनैतिक क्रियाकलापप्रति सार्वजनिक असन्तुष्टि देखिनसक्छ र ? यो चरित्र नेपाली राजनीतिक र प्रशासनिक स्वायत्तताका लागि खतराको घण्टी हो । यो घण्टी बज्न थालिसकेको छ ।
कांग्रेसमा नीति र नैतिकता छैन । यो कुरा सांसदलाई थाइलेण्डको बेश्यालयसम्म पु¥याउनुले प्रष्ट भइसकेको थियो, तर अनेक काण्डमा मुछिए पनि देउवा नै प्रजातन्त्रका बिडा उठाउने नेता हुँ भन्छन् । सर्वहारा सर्व आहारावादी भइसक्यो । अलि सग्लो एमाले थियो, त्यो पनि बदनामीको रामनामी ओढेर पानीमाथिको ओभानो हुन कसरत गरिरहेको छ । नयाँ निस्केका राष्ट्रिय स्वतन्त्र र युवा नेतृत्व भएको राप्रपा लगायनका केही साना पार्टी परीक्षामै छन् । समष्टिमा भन्नुपर्दा नेपाल अन्धकारतिर धकेलिदै छ । प्रश्न छ, उज्यालो दिने कसले ?

काठमाडौंमा मनाईयो पाकिस्तानको ८४ औं राष्ट्रिय दिवस
काठमाडौ । पाकिस्तानको ८४ औं राष्ट्रिय दिवस मनाइएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर राष्ट्रिय दिवस मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले सन् १९४० मार्च २३ मा पारित पाकिस्तान संकल्पको ऐतिहासिक महत्वबारे प्रष्ट पार्नुभएको छ । उहाँले पाकिस्तान निर्माणमा लोकतान्त्रिक संघर्ष गरेका मुहम्मद अली जिन्नाको नेतृत्व र सो पुर्खाको योगदाानको समेत स्मरण गर्नुभएको बताइएको छ ।
सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै भनिएको छ, ‘यसबाट नै दुई मुलुकबीचको सम्बन्धमा बलियो बन्धन विकसित भएको हो ।’ शिक्षा, स्वास्थ्य, रक्षा र द्विपक्षीय सम्बन्धमा विद्यमान सहकार्यको निर्माण, आईसीटीको योगदान र जलवायु परिवर्तनबाट उत्पन्न साझा सरोकारमा थप सहकार्य गर्न सकिने उहाँको भनाइ छ ।
उपराष्ट्रपति डा.रामसहायप्रसाद यादवको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति थियो । त्यस्तै, उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल, नेपाली सेनाका पूर्व प्रधानसेनापति, वरिष्ठ राजनीतिज्ञ तथा व्यापारिक अगुवा, निजामती तथा सैनिक अधिकारी, कूटनीतिज्ञ, काठमाडौंमा रहेको पाकिस्तानी समुदायका धेरै जना उपस्थित रहेको पाकिस्तानी दूतावासले जनाएको छ ।

footer