kumari
stcnepal

सुप्रिम सहकारी ठगी प्रकरण : एक जनालाई पुर्पक्षका लागि थुनामा, ६ जनालाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जना विरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको श्रेस्तेदार ज्ञवालीले बताए ।

अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । वचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ ।

 

footer