kumari
stcnepal

महाशिवरात्री उपलक्ष्यमा राष्ट्रपतिको शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरिन् ।

“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पशुपती क्षेत्र नेपाल सँग रहनु हाम्रा लागि गौरवको विषय हो”, सन्देशमा भनिएको छ ।

मुलुकका धेरै समुदाय भित्र विद्यमान सनातन संस्कृतिमा शि वसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइएको उनको भनाइ छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ । वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको भण्डारीले बताइन् ।

सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ । रौद्र शक्तिले खराब रोजाइ बाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ ।

राष्ट्रपति भण्डारीले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्र सहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्नेमा समेत जोड दिइन् ।  क्षेत्रलगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवं अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवं अध्येताहरूले अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

“पुर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु”, सन्देशमा भनिएको छ ।

आधुनिकताको प्रभाव सँगै पर्वहरू मनाउने शैलीमा समेत परिवर्तन भइरहेको पाइन्छ । मौलिकतालाई कायम राख्दै परिवर्तनलाई ग्रहण गर्न र परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षहरूलाई त्याग गर्न सरकारका सबै निकायका साथै नागरिकको सक्रियता आवश्यकता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

 

footer