kumari
stcnepal

मधेसमा एमालेले बनायो निर्वाचन बिशेष परिचालन कमिटी

जनकपुरधाम । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमाले मधेस कमिटीले नेताहरुको कार्य विभाजन गरेको छ । निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीका साथ कार्य विभाजन गरेको नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ । यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मेवारी पाएका छन् । यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युतम मैनालीलाई बाराको जिम्मेवारी सुम्पिएको छ । सिरहा सुखीपुर नगरपालिकाका मेयर समेत रहेका पार्टीका प्रदेश अध्यक्ष यादवले भने पर्सा सम्हाल्नेछन् ।

यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको एमालेले जनाएको छ ।

५०१ सदस्यीय उक्त कमिटीमा प्रदेश सह इन्चार्जहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरु सदस्य रहनेछन् । कमिटीको सदस्य सचिवमा प्रदेश अध्यक्ष यादवलाई राखिएको छ ।

 

 

 

footer