kumari
stcnepal

भारतले दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दियो,

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा भारतले बलियो दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दिएको छ । कोलकाता स्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रन बनाएको हो ।

भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित एक सय एक रनको योगदान गरे । भारतीय टोलीका पूर्वकप्तान समेत रहेका कोहलीले निकै समालिएर ब्याटिङ गरेका थिए । यसअघि विराटले दक्षिण अफ्रिका विरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका थिए । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको खेल जीवनको कीर्तिमानी सतक पनि हो । यही सतकसँगै उनले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान सँग बराबरी गरेका छन् । कोहलीले एकदिवसीय क्रिकेटमा प्रहार गरेको यो ४९औँ सतक हो । सचिनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक प्रहार गरेका थिए । अब कोहलीले यही विश्वकपमा अर्को सतक प्रहार गर्दै सचिनको कीर्तिमान तोड्ने सम्भावना पनि बढेको छ ।

विराटका अतिरिक्त भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि उत्कृष्ट अर्धसतकीय योगदान गरे । उनले टोलीको खातामा ७७ रन थपे । उनले पेभेलियन फर्किनुअघि ८७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । भारतका लागि कप्तान रोहित शर्माले पनि आक्रामक पाली खेल्दै ४० रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिल भने २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

footer