kumari
stcnepal

गठबन्धन कसैको लागि पनि हितकर छैन, पार्टीको निर्णय मात्र मानेको हु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचन अघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु ।मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरू बीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उनको भनाइ छ । महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरू बीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

तल्लो कमिटीमा दलहरू बीच कुरा नमिले केन्द्र बाट हस्तक्षेप नहुने उनले बताए । ‘स्थानीयस्तरमा पार्टी बीच कुरा मिले तालमेल हुन्छ । माथि बाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन,’ थापाले अघि भने । महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै को सँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म को सँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथि बाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो ।माथि बाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्म विपरीत हुन्छ ।’ महामन्त्री गगन थापाले थापाले बुधबार बसेको कार्यसम्पादन समितिको बैठकमा पनि तालमेलको औचित्य माथि प्रश्न उठाएका थिए ।

गठबन्धनकै दलहरू नै पहिलो र दोस्रो भएको स्थानमा तालमेलको औचित्य स्थापित गर्न नसकिने थापाले प्रष्टाएका थिए । ‘रुकुममा मुख्य प्रतिस्पर्धा नै कांग्रेस र माओवादीको छ । गोरखामा एमाले कमजोर छ ।’ थापाले बैठकमा राखेको विषय बारे एक नेताले भने,’गोरखामा कांग्रेस वा माओवादीले जितेको छ ।’ मधेस प्रदेशका धेरै स्थानमा कांग्रेस र जनता समाजवादी विच मुख्य प्रतिस्पर्धा भएको उनले तथ्य सुनाएका थिए । ‘मुख्य प्रतिस्पर्धा भएका स्थानमा आफू-आफू लड्नपर्दछ,’ थापाले बैठकमा भने,’तल बाट मिल्न सके मिल्छ । केन्द्र बाट हस्तक्षेप गर्नुहुँदैन ।’ केन्द्रीय समितिले निर्णय गरेपछि मात्रै संयन्त्रले मोडालिटी टुंगाउनुपर्ने विषय थापाले सर्वदलीय संयन्त्रमा राख्दै आएका थिए ।

 

 

 

footer