kumari
stcnepal

राखेपका ८ जना बोर्ड सदस्यहरुले औपचारिक पदबहाली गरे

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का ८ जना बोर्ड सदस्यहरुले औपचारिक पदबहाली गरेका छन् ।आइतबार काठमाडौंमा बसेको राखेपको ११३औं बोर्ड बैठकमा ती ८ जना सदस्यलाई सहभागी गराइए सँगै उनीहरुको जिम्मेवारी सुरु भएको हो ।

सरकार परिवर्तन सँगै नयाँ खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरी १० गते ८ जनालाई नयाँ नियुक्ति दिएका थिए । आफ्नो बर्खास्ती र नयाँ नियुक्तिको विरोधमा ९ मध्ये ५ जना सदस्यले उच्च अदालतमा रिट दायर गरेपछि अदालती झमेला सुरु भएको थियो । अदालतको अन्तरिम आदेश सँगै नयाँ नियुक्ति भएकाले जिम्मेवारी पाउन सकेका थिएनन् । गत असार २९ गते उच्च अदालत पाटनले बर्खास्तीमा परेका बोर्ड सदस्यको रिट खारेज गरिदिएपछि नयाँ सदस्यको नियुक्तिका लागि बाटो खुलेको थियो ।

मंसिरमै नियुक्ति पाएका बोर्ड सदस्यहरु मोहम्मद फाजिल, पेमा डोल्मा लामा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अन्जन धमला र श्रीमान थापामगर आइतबारको बैठकमा राखेपका अध्यक्ष समेत रहेका खेलकुदमन्त्री गहतराजले स्वागत गरे ।घरेलु खेलकुदको नियामक निकाय राखेपले सरकारले बजेट र नीति तथा कार्यक्रममा आधारित रहेर वार्षिक कार्ययोजना बनाउने भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले आइतबारको बोर्ड बैठकमा यो सहित चार वटा एजेण्डा प्रस्तुत गरेका छन् ।

त्रैमासिक लक्ष्य सहितको कार्ययोजना बनाउने विषय राखेप बोर्ड बैठकमा छलफल हुनेछ । त्यस बाहेक असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि अहिले सम्मको तयारी र कार्यप्रगति बारे बैठकमा छलफल हुनेछ । नयाँ खेलकुद ऐनअनुसार राखेपको सांगठानिक संरचना निर्माण गर्ने एजेण्डा पनि सदस्य सचिव टंकलाल घिसिङले प्रस्तुत गरेका छन् ।

footer