kumari
stcnepal

भारतले एक खेल अगावै जित्यो टी-२० सिरिज

वेष्ट इण्डिज विरूद्धको टी-२० सिरिज भारतले एक खेल अगावै जितेको छ। शुक्रबार दोस्रो खेलमा वेष्ट इण्डिजमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली भारतले एक खेल अगावै सिरिज २-० ले जितेको हो।

भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। उसका लागि निकोलस पूरन र रोभम्यान पावेलले उत्कृष्ट पारी खेले पनि टोलीलाई हराबाट जोगाउन सकेनन्। पुरनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६२ रन बनाउँदा पावेलले ३६ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ६८ रनको योगदान दिए। यस्तै ब्रेण्डन किंग २२ र कायल मेयर्स ९ रनमा आउट भएका थिए।

भारतका रवि विश्नोई, युजवेन्द्र चहल र भुवनेश्वर कुमारले समान एक/एक विकेट लिए।  कोलकाता स्थित इडेन गार्डेन मैदानमा टस हारेर पहिले  ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि विराट कोहली, ऋषभ पन्त र वैंकटेश अय्यरले उत्कृष्ट पारी खेले।

कोहलीले ४१ बलमा सात चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए। योसँगै उनले टी–२० सर्वाधिक अर्धशतक बनाउने मामलामा रोहित शर्माको कीर्तिमान बराबर गरेका छन्। विराट र रोहितले टी-२० मा ३०/३० अर्धशतक बनाएका छन्।
footer