kumari
stcnepal

बीरगञ्ज बाहेकका अन्य पालिकामा गठबन्धन गर्न ४ दल सहमत

वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन गरेर जान चार राजनीति दल सहमत भएका छन् । महानगर बाहेक १३ पालिकामा गठबन्धन गरेर जान नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका हुन् ।

गठबन्धनमा पाँच दल भए पनि पर्सामा ४ दल मात्रै सक्रिय छन् । मंगलबार बसेको बैठकमा महानगरपालिका बाहेक बाँकी पालिकामा वास्तविक अवस्थाको विश्लेषण गरेर गठबन्धन गरेर जाने निर्णय भएको नेपाली कांग्रेस पर्साका उपभासपति राम नारायण कुर्मीले जानकारी दिए ।

‘महानगरमा कांग्रेसको आफ्नो दाबी छ, अरु दलको पनि आफ्नै किसिमको दाबी छ’ उनले भने, ‘महानगरपालिका बाहेक अन्य पालिकामा दलहरूको वर्तमान स्थितिको विश्लेषण गर्ने र गठबन्धन गरेर जाने सहमति भएको छ ।’

तीन नगरपालिका र १० गाउँपालिकामा कसरी गठबन्धन हुने भन्ने बारेमा भने निर्णय भइनसकेको उनले बताए । ‘सबै दलले आ-आफ्नो हिसाबले प्रतिवेदन तयार गरेर ल्याउँछन्’ उनले भने, ‘त्यसपछि स्ट्रेन्थको आधारमा कसले कहाँ कसरी सहयोग गर्ने भन्ने निर्णयमा पुग्छौं ।’

 

 

footer