kumari
stcnepal

आईपीएलकै सबैभन्दा उच्च स्कोर बनेको खेलमा हैदराबाद सँग मुम्बई इन्डियन्स ३१ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ ।

बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । तीन ब्याटरले अर्धशतक बनाएपछि हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलको इतिहासमा यो अहिलेसम्मै सबैभन्दा ठुलो योगफल हो ।

हैदराबादले यसअघि सन् २०१३ को संस्करणमा रोयल च्यालेन्जर्स बेंग्लोरले बनाएको २६३ रनको कीर्तिमान तोडेको हो । कीर्तिमान तोड्ने क्रममा हैदराबादबाट हेनरिक क्लासेन, अभिषेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाएका थिए । क्लासेनले ३४ बलमा चार चौका र सात छक्कासहित ८० रन बनाए । हैदराबाद ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १६१ रनको स्थितिमा हुँदा क्लासेनले चौथो विकेटका लागि आइदेन मार्करमसँग नौ ओभरमा ११६ रनको शतकीय साझेदारी गर्दै हैदराबादलाई कीर्तिमानी योगफलसम्म पुर्याएका थिए ।

प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकाको नवौँ स्थानमा छ ।

footer