पशुपतिनाथ देखी झारखण्डको बैधनाथधामसम्म द्रुतमार्ग निर्माण गर्दै भारत
वि.सं.२०८२ फागुन ४ सोमवार १५:५८
shares
काठमाडौं । भारतले पशुपतिनाथ देखि बिहार हुँदै झारखण्डको बैद्यनाथधामसम्म द्रुतमार्ग निर्माण गर्ने भएको छ । बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जयसवालले मंगलबार विधानसभामा उक्त विषयमा जानकारी दिएका हुन् ।
सभामा आर्थिक वर्ष २०२६/२७ को लागि सडक निर्माण विभागको ८,२६० करोडभन्दा बढीको बजेट प्रस्तुत गर्दै जयसवालले भने “प्रस्तावित २५० किलोमिटर लामो ’पशुपतिनाथ–बैद्यनाथ धाम हाई–स्पीड करिडोर’ काठमाडौँबाट निस्कनेछ, भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा भारतमा प्रवेश गर्नेछ । त्यसपछि यो मधेपुरा, सहरसा, खगरिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लाको वैद्यनाथ धाम पुग्नेछ ।”
मन्त्री डा. दिलीप जयसवालले भारत–नेपाल सीमा सडक परियोजना अन्तर्गत बिहारमा कुल ५५४.०८ किलोमिटर सडक निर्माण भइरहेको पनि जानकारी दिए । मन्त्रीका अनुसार यो परियोजना सात सीमावर्ती जिल्लाहरू हुँदै जानेछ । पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज। यो मार्ग पश्चिम चम्पारणको मदनपुरबाट सुरु हुनेछ र किशनगंज जिल्लाको गलगलियामा समाप्त हुनेछ ।
परियोजनाहरू सम्पन्न हुँदा सीमावर्ती क्षेत्रहरूमा यात्रालाई सहज बनाउने मात्र नभई व्यापार, पर्यटन र सुरक्षाको हिसाबले राज्यलाई महत्वपूर्ण फाइदा पनि हुनेछ । जेपी गंगा मार्गलाई आराबाट गंगा नदीको दक्षिणी किनारमा भागलपुरसम्म विस्तार गर्ने योजना छ ।





































