पूर्वराजा ज्ञानेन्द्र शाहलाई फागुन १ गते काठमाडौंमा भव्य स्वागत गर्न राप्रपा नेता मिश्रको आग्रह
वि.सं.२०८२ माघ २५ आइतवार १३:५४
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फागुन १ गते पूर्वराजा ज्ञानेद्र शाहलाई काठमाडौंमा भव्य स्वागत गर्न आह्वान गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उपत्यकाबाहिरबाट फर्किँदा त्रसभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्न आह्वान गरेका हुन् ।
पूर्वराजा शाह हाल पोखरामा छन् । त्यसअघि उनी जनकपुर पुगेका थिए । शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजापाठ गरेका थिए । मिङका अनुसार फागुन १ गते उनी काठमाडौं फर्किने कार्यक्रम छ ।
देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेको मिश्रको दाबी छ । शाहलाई स्वागत गर्न देशभरिका राप्रपा र अन्य राजसंस्थावादी समूहका सबैलाई एकदिन काठमाडौंमा उपस्थित भइदिन उनले आग्रह गरेका छन् । ‘राजालाई फागुन १ गते काठमाडौं विमानस्थलमा भव्य-भव्य-भव्य स्वागत गरौँ! देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। यो एकदम सकारात्मक संकेत हो,’ उनले लेखेका छन्, ‘राजस्थावादी आम सर्वसाधारण त उपस्थित हुने नै छन्।
तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौं उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो। बल्ल देश नवीनसमझदारीतिर अग्रसर हुने संकेत मिल्न थालेको छ।’




































