तामाकोसी बस दुर्घटना : निधन हुनेको संख्या १४ पुग्यो
वि.सं.२०८२ फागुन ५ मंगलवार १९:४६
shares

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो । दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो ।
दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए । हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो ।दुर्घटनामा डुबेर मृत्यु भएका २ जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ । बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ ।





































