सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जे खायो पचाउने दिल्लीको हाजमोला

416
shares
  • राजन कार्की

मानौं दिल्ली गरुढ हो, गरुडको छायाँ परेका सर्पहरु हुन् नेपाली दलहरु । यी दलहरु देशलाई डस्छन् र गरुडका अत्याचार चुमुर्किएर सहन्छन् । यताका शासकहरु उताका रैती हुन् जस्ता । नेपाली राजनीतिका लागि दिल्लीको हाजमोला, जे खायो पचाउने गजबको उत्पादन हो ।

प्रजातन्त्रवादी नेपाली कांग्रेस, सर्वहारावादी वा समाजवादी कम्युनिष्टहरु, मधेशवादीदेखि अरु जो छन्, नाम चलेका र अलि अलि आशा भएका ती सबैका लागि दिल्लीको हाजमोला, मृतसञ्जीवनी बुटी बनेको छ । त्यसैले त दिल्ली नेपाली राजनीतिको बैतर्णी बन्न सफल भएको देखिन्छ । अफ्रिका र दक्षिणपूर्वी एसियामा पाइने ¥योकोफोरस जातका भ्यागुता १० मिटर परसम्म उफ्रनसक्ने रहेछन् । दक्षिण एसियाको मुलुक नेपालका राजनीतिज्ञहरु भ्रष्टाचार र नैतिकहीन मामिलामा विश्व रेकर्ड नै तोडेर उफ्रनसक्ने रहेछन् भन्ने प्रमाणित हुनपुगेको छ ।

लाटोकोसेरोले के खाएर बाँच्छ होला अनुमान गरौं । चरा, मुसा खाएर बाँच्ने लाटोकोसेरोमा दाँच हुँदैन । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरु मुखैबाट ओकल्छ । राजनीतिको अर्थ उत्तम समाज सेवा हो तर नेपाली राजनीतिमा लागेकाहरु जो ३० वर्षअघि आएको बहुदल र १३ वर्ष अघि स्थापित लोकतन्त्रलाई यसरी व्यापार बनाएर जे पायो सुलुत्त सुलुत्त निले कि तिनीहरु आज अरवी शेखजसरी सम्पन्नताको जीवन बिताउन थालेका छन् । यसमा पनि खासगरी आफूलाई कम्युनिष्ट बताउनेहरु, राजा फालेर नवबास्सा बन्नपुगेका छन् ।

मोहनविक्रमदेखि अरु भुरेटाकुरे जो सच्चा कम्युनिष्ट हुन्, तिनीहरु कोठाचोटामा साँघुरिएर, चाउरिएर भन्छन्– डबल कम्युनिष्ट मिलेर बनेको नेकपा, डबल नेतृत्वमा चलेको त छ तर तिनले सर्वहाराको प्रतिनिधित्व गर्दैनन् । तिनीहरु सर्वआहारा हुन् । अर्थात् जे पायो खायो, हाजमोलाको बलमा पचायो । विदेशी एजेण्डा बोक्ने भरियाका लागि ज्यालाको महत्व हुन्छ । ज्यालामात्र होइन, अव त लखनौं लूट नै बनाएका छन् लोकतन्त्रलाई ।

अब्राहम लिंकनले भनेका गएका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हो, नेपाली गरीव छन्, बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छ । पैसा खर्च गरेपछि, शक्तिको दुरुपयोग गरेर र तर्साएर चुनाव जित्नका लागि पैसा चाहिन्छ र कम्युनिष्टहरुले नेपाललाई कम्युनिष्टको नाममा बन्दी बनाएका छन् । पैसाको र विदेशी ताकतको बलमा । त्यसैले त नाकावन्दीका बेलामा देशभक्त देखिएका ओली चुनाव जित्नासाथ विदेशवादी बने । न सीमामा बोल्छन्, न डुबानमा । जसले सीमाको रक्षा गर्न सक्दैन, ऊ कसरी देशभक्त हुनसक्छ ? जो सर्वहाराको नारा लगाउँछ र सर्वआहारा खान्छ, निषेधित फल खाने सिद्धान्तहीन व्यक्ति कसरी देशको शक्ति हुनसक्छ ?

आधुनिक डाइनासोर हो नेकपा । डाइनासोर जस्तो भयावह जीव, आज बिनष्ट भइसक्यो । किन बिनष्ट भयो, त्यो कम्युनिष्टहरुको अध्ययनको विषय हो । संविधान निर्माणका बेलामा जनतासँग सुझाव लिइयो, एउटा सुझाव पनि संविधानमा समावेश गरिएन । १२६ जाति छन् देशमा । १२–१५ जातिले शासन गर्ने संविधान जारी गरेका छन्, कहाँ छ पहिचान ? समावेशीताको नारा यिनै घन्काउँछन् । कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेको छ, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता संविधानले कहाँ दिएको छ ? तिनलाई आफ्नो पहिचान चाहिन्छ कि चाहिन्न ? तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूतअधिकारको चिन्ता संविधानले संसदबाट ग¥यो कि सरकारले सिंहदरवारबाट । गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा आहाल बस्न पूग्यो । अनि सर्वहाराका नेताहरुका लागि यो सब अवसर सर्वआहाराको अवसर बनेको छ, भोजन भट्टहरुका लागि ।

देशमा समाजवादी, कम्युनिष्ट, नेकपा, कांग्रेस, राप्रपा, मधेशवादी मूल पार्टीहरु हुन् । यी कसैको प्राथमिकतामा सर्वहारा छैनन् । सर्वहारा अर्थात जोसँग पाखुरीबाहेक अरु केही छैन । पाखुरी बजार्न सकेको दिन खायो, नसकेको दिन भोकै सुत्यो । न घर छ, न बास । जीवनकै स्थायित्व छैन, अरु के हुन्छ तिनको । सुकुम्वासी समस्या छ, मजदुर समस्या छ, समस्यै समस्या छ र यिनै समस्यालाई म गर्छु समाधान भनेर कम्युनिष्ट नामधारीहरु सर्वहाराको प्रतिनिधित्व गर्छन् । आफ्ना चाकरीवाज दुई चारजनाले अवसर पाए होलान्, अरु सर्वहाराले जनयुद्धबाट पनि केही पाएनन्, जनआन्दोलनाट पनि रित्तै रह्यो ।

जो सर्वहाराका नाइके थिए, तिनीहरु पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । रोगको उपचारसमेत राज्यकोषबाट खर्च गराए । आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरे । स्थिति यतिसम्म देखियो कि अव त केही दिन आरा मगर्न सिंगापुर, बैंकक, दुवई जाने र सिंगो परिवार नै बोकेर वाटर वाथ गर्न समेत विदेश हुइँकिने । के नेपालमा पानी छैन, के नेपालमा अस्पताल छैन ? के नेपालमा आराम गर्ने ठाउँ नै छैन ? त्यसो भए किन अर्को साललाई पर्यटन वर्ष भनेको ? किन २० लाख पर्यटक भित्र्याउने ढोल पिटेको ? केही छैन भने पर्यटक नेपाल किन आउने ?

विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरु नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेता कस्ता ? २००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कू त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरु दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो ।

०४६ सालमा १० बुँदे भारतीय प्रस्ताव आएकै हो । राजा वीरेन्द्रले त्यसलाई अस्वीकार गरेर जनताका सामु झुक्छु भनेका हुन् । बहुदल त आयो, बहुलायो । १२ वर्षे कूशासन त्यही बहुदलीय कालखण्ड हो । त्यही कालखण्डमा महाकाली, टनकपुर सन्धि भए भारतको हितमा । त्यही समयमा विदेशीलाई नागरिकता सजिलै दिने बिधेयक आयो, राजाले फर्काइदिए । त्यसको प्रतिफल हो दरवार हत्याकाण्ड । ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । उनका सामु फेरि नागरिकता वितरण सरलीकरण गर्ने संशोधन आयो, उनले नामञ्जुर गरिदिए । त्यसैको प्रतिफल राजतन्त्र समाप्त पारियो, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो ।

अहिले सजिलै नागरिकता बितरण गर्ने र विदेशीका सन्तानलाई बंशजका आधारमा नागरिकता दिएर नेपालको संवैधानिक अंगहरुको प्रमुख बन्नसक्ने व्यवस्था गर्न लागिएको छ । विधेयक संसदमा छ, बिरोध सडकमा । बिरोधको बेवास्ता गरेर गृहमन्त्रीले ७७ जिल्लामै परिपत्र निर्देशन जारी गरेर नागरिकता बितरण गरिन थालेको थियो, पाउनेले पाए, अदालतले रोक लगाएको छ । संसदभन्दा सरकार ठूलो बनेर नाकले पानी खान थालेपछि नेपाल फिजी नभए के हुन्छ ? सर्वहाराको प्रतिनिधित्व गर्छु भन्ने नेताहरु सर्वआहारा ग्रहण गर्दै विदेशीको लाउके बनेका छन् । यो सरकार देशभक्तरे ?

समस्या सर्वहाराको मुक्तिमै छ । मुक्तिका लागि कुरा बढी भए, काम शून्य । सर्वहारा चुनावी हतियारमात्र भए । चुनावमा विश्वास गरेर मतदान गर्छन्, चुनावपछि सर्वहारा हतियार सर्वहाराको गर्धनमै बज्रिन्छ । घाइते सर्वहारा नै हुन्छन् । जो जति सर्वहारा छन्, ती सब हतियार र अचानो दुबै बन्ने गरेका छन् । सर्वहाराका नेताहरु यति चङ्ख छन् कि सर्वहारा तह र तप्कालाई संगठित हुनै दिदैनन्, तिनलाई अनेक पार्टीका अनेक भातृ संगठन खोलेर बिभाजित गरिएको छ ।

देशभक्तहरु जो नेपालीत्वका कुरा गर्छन्, जो सीमा सुरक्षित हुनुपर्छ भन्छन्, जो सबै जातजातिको पहिचानको रक्षा र समानताको वकालत गर्छन्, जो विदेशी हस्तक्षेप रोक्न चट्टान भएर उभिन सक्छन्, तिनीहरु सबै एक हुनुपर्छ । त्यस्ता देशभक्तहरु नेकपाभित्र पनि छन्, नेपाली कांग्रेस, राप्रपा, मधेशवादीभित्र पनि छन् । अन्यत्र छरिएका र स्वतन्त्र पनि छन् । ती सबै एकत्रित, एकजुट हुनुपर्ने बेला यही हो । अन्यथा भारतका रअको शीर्ष टिमले रहस्यमय नेपाल भ्रमण गरेर फर्केको बेलामा, भारतका विदेशमन्त्री नेपाल आउने कार्यक्रम तय भएपछि र भारतले काश्मिरमा कू गरे पछि भारतलाई महाप्रभू नै मान्ने मनस्थिति भएका नेपाली कांग्रेसका दिग्गज नेता प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर बोल्ने हिम्मत गरेका छन् ।

यो हिम्मतका पछाडि कुन तत्वको धाप छ, उक्साहट छ, के अभिष्ठ र योजना छ ? के कस्तो संकेत पाएर उनले यस्तो बोले ? यस विषयमा न अन्तराष्ट्रिय समितिमो छलफल अघि बढ्यो, न संसदले केही बोलेको छ, न सरकारले नै मुख खोलेको छ । डबल नेकपाको नीति सर्वहाराको हित, नेपालीत्वको जगेर्ना होइन, सर्वआहाराको भोजन र स्वार्थ तथा आत्मसन्तुष्टिमात्र हो । यो तमाम नेपाली हँु भन्नेहरुका लागि सतर्कताको समय हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports