विवादमा तानिए पञ्चकन्या माविका पूर्वप्रअ तिवारी, बोर्डिङको स्वार्थमा सरकारी विद्यालय बन्धक बनाएको आरोप
वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:३३
shares
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पञ्चकन्या माध्यमिक विद्यालयsf पूर्वप्रधानाध्यापक विष्णु प्रसाद तिवारीमाथि सार्वजनिक शिक्षालाई कमजोर बनाएर आफ्नै निजी बोर्डिङ विद्यालयलाई फाइदा पुर्याएको गम्भीर आरोप लागेको छ।
विद्यालयमा लामो समय प्रधानाध्यापक रहेका तिवारीले सरकारी विद्यालयको शैक्षिक गुणस्तर जानाजानी कमजोर बनाएको, शिक्षकलाई निजी बोर्डिङमा प्रयोग गरेको तथा गाउँपालिकाको शिक्षा सुधार अभियान नै बिथोल्न खोजेको स्थानीय आरोप लागेको हो।
स्थानीय स्रोतका अनुसार तिवारीको ५५ प्रतिशत लगानी रहेको ‘सितलादेवी इङ्लिस बोर्डिङ स्कुल’ सञ्चालनमा रहेको अवस्थामा उनले पञ्चकन्या माविलाई प्रभावकारी रूपमा सञ्चालन हुन नदिएको दाबी गरिएको छ। विद्यालयमा नियमित रूपमा कक्षा नलिने, सरकारी शिक्षकहरूलाई निजी बोर्डिङमा पढाउन लगाउने तथा सार्वजनिक विद्यालयको शैक्षिक वातावरण कमजोर बनाउने काम भएको आरोप लगाइएको छ। विद्यालय प्रशासनका अनुसार विगत ३-४ वर्षदेखि उनले विद्यालयमा एक पिरियडसमेत नपढाएको दाबी गरिएको छ।
यस्तै, आफ्नी श्रीमतीलाई अनुकूल हुने गरी विद्यालयको पाठ्यक्रम परिवर्तन गरिएको विषय पनि विवादमा परेको छ। स्वास्थ्य विषयमा स्नातकोत्तर गरेकी श्रीमतीलाई अवसर दिलाउन विद्यालयमा वर्षौंदेखि पढाइँदै आएको ‘शिक्षा’ विषय हटाएर ‘स्वास्थ्य’ विषय राखिएको आरोप पनि छ। यसबाट शिक्षा विषय अध्ययन गर्न चाहने विद्यार्थी प्रभावित भएका र कतिपयले पछि अन्यत्र गएर अतिरिक्त कोर्स गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। साथै, निजी बोर्डिङबाट सरकारी विद्यालयमा आउन चाहने विद्यार्थीलाई मानसिक दबाब दिने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।

निजी विद्यालयमा लगानी रहेको तथा पञ्चकन्या माविमा अनियमितता गरेको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले छानबिन गरी कारबाही गरेपछि गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार तिवारीलाई प्रधानाध्यापक पदबाट हटाइएको थियो। उनको ठाउँमा जितबहादुर थापालाई नयाँ प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ। उक्त निर्णयविरुद्ध तिवारी सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको बताइएको छ।
यसैबीच, गाउँपालिकाले जेठ ४ गते २१ जना शिक्षकको दरबन्दी मिलान तथा समायोजन गर्ने निर्णय गरेपछि विवाद थप चर्किएको छ। पालिकाका अनुसार स्थानान्तरण भएका अधिकांश शिक्षकले निर्णयलाई व्यावहारिक र सकारात्मक भन्दै स्वीकार गरिसकेका छन्। तर, केही असन्तुष्ट शिक्षकलाई अघि सारेर तिवारीले पालिकाको निर्णयविरुद्ध वातावरण बनाउन खोजेको आरोप लगाइएको छ। धनबहादुर अधिकारी लगायतका शिक्षकलाई उचालेर आन्दोलनको माहोल सिर्जना गर्न खोजिएको स्थानीय दाबी छ।

पालिकाको निर्णय लगत्तै तिवारीले विभिन्न निकायमा समानान्तर रूपमा पत्राचार र निवेदन दर्ता गरेको विषय पनि सार्वजनिक भएको छ। उनले क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीमार्फत संघीय शिक्षामन्त्रीलाई शिक्षकहरू पीडित भएको दाबी गर्दै पत्र पठाएको, आफूलाई अझै ‘शिक्षक महासंघ अर्जुनचौपारीको अध्यक्ष’ दाबी गर्दै निवेदन दर्ता गराएको तथा शिक्षक संघ स्याङ्जाका प्रवक्ता कमलकान्त अर्यालसँग मिलेर सूचनाको हक प्रयोग गर्दै विभिन्न विवरण माग गरेको बताइएको छ।
पालिकाको शिक्षा प्रणाली सुधार गर्नका लागि पालिकाले पहल गरिरहेको समयमा यस्ता गतिविधिले पालिकाको शिक्षा प्रणालीमाथीनै प्रहार भएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । स्थानीय अभिभावक, बुद्धिजीवी र सरोकारवालाले सार्वजनिक शिक्षालाई निजी व्यापारिक स्वार्थको माध्यम बनाउने प्रवृत्ति अन्त्य हुनुपर्ने अध्यक्ष तिवारीको तर्क छ । तिवारीका अनुसार अधिकांश शिक्षक सहमत भइसकेको अवस्थामा केही असन्तुष्ट समूहलाई प्रयोग गरेर गाउँपालिकाको शिक्षा सुधार अभियान रोक्ने प्रयास भइरहेको छ ।





































