काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न पाउँदैन : प्रमुख जिल्ला अधिकारी बस्नेत
वि.सं.२०८० असोज १४ आइतवार १४:३३
shares

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् ।आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताएका हुन् । उनले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताए ।
उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए । उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरुले माईतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए । ‘विगत लामो समयदेखि प्रर्दशन,सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुल्ला मञ्चको रुपमा प्रयोग भएको थियो । त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ । कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छैन । खुलामञ्च नेपाल सरकारको नाममा छ’ उनले भने, ‘त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह महानगरले प्रयोग गर्ने हो अन्योल छ । खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुपर्छ भन्ने माग छ । त्यो खुलामञ्च हो खुलामञ्च कै रुपमा प्रयोगमा आउनुपर्छ । त्यहाँ नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्छ । त्यो कसैले ताला लगाएर बन्द गरेर राख्न पाइँदैन ।’
उनले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माइतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए । उनले काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताए । प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरुलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए । उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए । उनले देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे ।
‘काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग भएको छ्रैन । सुरक्षाको हिसाबले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध छ । विभिन्न र्याली, हजारौंको सख्यामा प्रदर्शन भइरहेको छ’ बस्नेतले भने, ‘हामीले उनीहरुलाई साइडमा हिँडाएर नियमन गर्न सकेका छैनौं । ट्राफिक सचेतना सबैलाई जगाउन जरुरी छ । प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक भएको छ ।’ उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्ने बताउँदै ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए ।




































