तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पशुपतिमा पाँच लाख भन्दा बढीले गरे दर्शन, गत बर्ष भन्दा घटे साधुसन्त र दर्शानार्थी

663
shares

शिवरात्रिको अवसरमा २४ घण्टामा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार १४ वटा लाइनबाट प्रतिघण्टा २२ देखि २४ हजार भक्तजनले दर्शन गरेका छन् । तर, यसपालि गत वर्षभन्दा दुई लाख कम भक्तजन पशुपति पुगेका छन् ।

बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान २ बजेसम्म भक्तजनहरूका लागि दर्शन खुला गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बाहिरपट्टि चार र भित्रपट्टि १० लाइनबाट दर्शन गर्ने व्यवस्था थियो । दर्शनका लागि मन्दिरका चारवटै ढोका खुला गरिएको थियो । लाइन धेरै ठाउँबाट लगाइएका कारण भक्तजनलाई सहज भएको कोषका प्रवक्ता अधिकारीले बताए । ‘ठुलो संख्यामा भक्तजनले दर्शन गर्नुभएको छ, गत वर्षभन्दा यस वर्ष अझै व्यवस्थित गरेका छौँ,’ उनले भने, ‘बिहानैदेखि सुरु भएको भक्तजनको लाइन रातिसम्मै थियो । प्रतिघण्टा २२ देखि २४ हजारले दर्शन गर्नुभएको छ ।’

शिवरात्रिका अवसरमा भक्तजनको अत्यधिक चाप भएकाले बाहिरी लाइन चारवटा बनाइएको थियो । अन्य वर्षमा जस्तै यो वर्ष पनि भक्तजनको भिडभाड थियो । नेपाल तथा दक्षिण एसियाली देशका भक्तजन दर्शनका लागि आएका थिए । यसपटक भारतबाट ३० हजारभन्दा बढी भक्तजन आएको कोषले जनाएको छ । त्यस्तै, मलेसियाबाट दुई सय, इन्डोनेसियाबाट चार सयभन्दा बढी भक्तजन आएका थिए । तर, यसपटक श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स, कतारलगायत देशबाट भक्तजन आएनन् । नेपाल भ्रमणमा रहेका कतिपय पर्यटक पशुपति क्षेत्र पुगेका थिए ।कोषले विदेशी दर्शनार्थीलाई सकेसम्म छिटो दर्शन गराउने र लाइन लाग्ने नपर्ने गरी प्रबन्धसमेत मिलाएको थियो । तर, नेपाली भक्तजनलाई भने अनिवार्य लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । लाइन लागेको करिब दुई–तीन घण्टापछि दर्शनार्थीले दर्शन गर्न पाएका थिए ।

भक्तजनको अत्यधिक भिडभाडका कारण तिलगंगा, जयबागेश्वरी, गौशाला चोकसम्म लाइन थियो । पशुपति क्षेत्र विकास कोषले भक्तजनको भिड हुने भएकाले बिहीबार बिहान ३ बजेसम्म मन्दिरका ढोका खुला राखिएको थियो । तर, रातिको समयमा पनि भक्तजन दर्शनका लागि लाइन बसेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले शिवरात्रिमा चोरी र अपराधका घटना नभएको बताए । उनका अनुसार नेपाल प्रहरीले पशुपतिपरिसरमा आउने भक्तजनलाई सहजीकरण गरिदिन सूचना केन्द्र पनि राखेको थियो । उक्त सूचना केन्द्रमा दुई सयभन्दा बढी गुनासा र सूचना प्राप्त भएका थिए । सूचनाको आधारमा भक्तजनलाई सहयोग गर्ने कार्य भएको प्रहरीले जनाएको छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरपरिसरमा संकल्प पूजा गर्ने परम्पराअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार देशवासीका नाममा संकल्प पूजा गरेका छन् । दिउँसो ४ः३० बजे मन्दिरपरिसर पुगेका राष्ट्रपति पौडेलले करिब १० मिनेटसम्म पूजा गरे । संकल्प पूजाका क्रममा उनले देशमा शान्ति, समृद्धि र अमनचयनको कामना गरेका थिए । पूजा सम्पन्न भएपछि मन्दिरका मूल पुजारीले राष्ट्रपति पौडेललाई टीका लगाइदिएका थिए ।महाशिवरात्रिको अवसरमा करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । यद्यपि, भेटी गणना कार्य अझै बाँकी छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको संख्याका आधारमा उक्त अनुमान गरिएको हो । कोषका अनुसार पाँच लाखभन्दा बढी दर्शनार्थीले चढाएको भेटी र दान–दक्षिणा गणना गरी कोषकै नाममा राखिन्छ । प्रवक्ता अधिकारीका अनुसार आइतबारसम्म भेटी गणना सम्पन्न गरिनेछ । मन्दिरमा ठुलो परिमाणमा भेटी संकलन हुने भएकाले कोषले आवश्यक सुरक्षा–प्रबन्ध मिलाएको छ । साथै, भेटी गणना पारदर्शी बनाउन सबै सरोकारवाला पक्षलाई समावेश गरिने बताइएको छ ।

त्यस्तै, गत वर्ष पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको तथ्यांकअनुसार सात लाख भक्तजनले दर्शन गरेका थिए । तर, यसपटक भक्तजनको संख्यामा केही कमी आएको छ । कोषले यसपटक पनि शिवरात्रिमा करिब सात लाखले दर्शन गर्ने अनुमान गरेको थियो । भारतमा महाकुम्भ मेला चलिरहेका कारण भारतीय र केही नेपाली भक्तजन कम आएको हुन सक्ने अनुमान गरिएको छ ।गत वर्ष साढे तीन हजार साधुसन्त आएकोमा यसपटक दुई हजार पाँच सयको संख्यामा मात्रै साधुसन्त आएका छन् । यसमध्ये तीन सय नागा बाबा पनि छन् । उनीहरूलाई १६ फागुनमा टीका लगाई दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । साधुको स्तरअनुसार पाँच हजारदेखि सय रुपैयाँसम्म दक्षिणा दिने चलन छ । कोही विशिष्ट साधुसन्तले आफ्नो स्तरअनुसार भेटीसमेत माग गर्छन् । साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्छन् । साधुसन्तलाई ०६८ देखि कोष र संस्थानले भेटी तथा दान–दक्षिणा दिन थालेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports