भारु इतिहासकै कमजोर हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १८:१२
shares

काठमाडौं । भारतीय रुपैयाँ (भारु) इतिहासकै कमजोर हुँदा पनि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अमेरिकी डलरको आपूर्ति बढाउन सकेको छैन ।
आरबीआईले डलरको आपूर्ति बढाएर केही हदसम्म भारुको मूल्यलाई स्थिर राख्ने प्रयास गर्दछ । तर यतिबेला आरबीआईले डलर आपूर्ति गरिरहेको छैन । मध्यपश्चिमको द्वन्द्वबाट परेको मूल्यवृद्धिसहितको असर र वैकल्पिक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण भारतीय रुपैयाँ कमजोर बनेको छ ।
पछिल्लो समयमा ब्रिक्स राष्ट्रहरू डलरको वैकल्पिक मुद्रा विकास गर्ने तयारीमा छन् । भारत पनि त्यसको एउटा सदस्य राष्ट्र हो । साथै रसिया र युक्रेन युद्धको समयमा भारतले आफ्नै मुद्रामा रसियाबाट तेल आयात गरेको थियो । भारतको फरक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण पनि यतिबेला आरबीआईले डलरको आपूर्ति नबढाएको हुन सक्ने जानकारहरू बताउँछन् ।
मध्यपश्चिमको युद्ध, तेलको मूल्य वृद्धि, समग्र मूल्यवृद्धि, अमेरिकी ब्याजदर वृद्धिका कारण कमजोर बनेको भारुलाई हाल समायोजन नै गर्न दिने नीति भारतले लिएको हुनसक्ने उनीहरूको भनाइ छ ।शुक्रबार अमेरिकी डलरको तुलनामा भारु मात्र नभइ नेपाली रुपैयाँ पनि हालसम्मकै कजोर भएको छ । नेपाल र भारत बीच विनिमयदर प्रणाली स्थिर छ । अर्थात् १६० नेपाली रुपैयाँ बराबरको १०० भारु तोकिएको छ । डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुन जान्छ । त्यसैले डलरको तुलनामा भारु कमजोर वा बलियो हुँदा नेपाली रुपैयाँ प्रभावित हुन्छ ।
शुक्रबार मात्रै एक अमेरिकी डलर बराबर भारतीय रुपैयाँ ९४.८८ कायम भएको छ । त्यसैगरी एक अमेरिकी डलर बराबरका नेपाली रुपैयाँ खरिद दर १५१.५६ र बिक्री दर १५२.१६ कायम भएको छ । अमेरिकी डलरसँग विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले त्यसको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
सन् २०२६ को अप्रिलमा मात्रै भारतबाट १.१ लाख करोड भारु बाहिरिएको पौडेलले बताए । अप्रिलमा मात्रै भारतीय रुपैयाँ ५.५ प्रतिशतले कमजोर भएको छ । भारतबाट विदेशी लगानी अमेरिका फिर्ता हुने क्रम जारी छ । साथै विश्व राजनीति अस्थिरताले लगानीकर्तामा डलर प्रतिको विश्वास झनै बढेपछि भारुमा गिरावट आएको उनको भनाइ छ । पछिल्लो समयमा इजरायल–इरानको युद्ध तथा पेट्रोलियम पदार्थको आपूर्ति श्रृंखला नै बिग्रिएपछि विश्वव्यापी रुपमा डलर बलियो भएको पौडेलको भनाइ छ ।
अमेरीका–इजरायल र इरान युद्धका कारण दक्षिण एसियालाई बढी प्रभाव पारेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । पेट्रोलियम पदार्थ, रासायनिक मल तथा प्लास्टिक आपूर्तिमा समस्या आएका कारण डलर बलियो भएको थापाले बताए ।मध्यपश्चिम तनावको असर अमेरिकाको अर्थतन्त्रमा नपरेको र लगानीकर्ताका लागि डलर थप सुरक्षित बन्दा झन् रोजाइमा परेको उनको बुझाइ छ । ‘मध्यपश्चिम तनावका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा भारु कमजोर भयो,’ थापाले भने, ‘भारतमा आउने पूँजी पनि अमेरिकातिर फर्कियो । अर्थतन्त्रले राम्रो गरेन, मूल्य वृद्धि भयो, जसले भारत लगायतका देशहरुको विनिमय दर कमजोर भयो ।’
अहिलेको मुख्य समस्या भनेको पेट्रोलियम पदार्थको आपूर्ति रहेको उनले बताए । रासायनिक मल, प्लास्टिक लगायत धेरै वस्तुको आपूर्ति श्रृंखलामा अप्ठेरो परेको उनको बुझाइ छ । भारत पेट्रोलियम पदार्थमा आत्मनिर्भर छैन ।नेपाली मुद्रा कमजोर हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवारको आम्दानी बढ्ने पौडेलको भनाइ छ । ‘पर्यटन उद्योग, निर्यातहरूमा नेपाली रुपैयाँ कमजोर हुँदा फाइदा हुन्छ,’ पौडेलले भने, ‘नकारात्मक पक्ष भनेको वैदेशिक ऋणहरूको किस्ता तथा साँवा तिर्नको लागि महँगो पर्छ । मुल्यवृद्धि पनि बढ्न जान्छ ।’





































