प्रतिशोधको राजनीतिले कसैको भलो गर्दैन प्रधानमन्त्रीज्यू
वि.सं.२०७७ भदौ ४ बिहीवार १५:४६
shares

काठमाडौ । केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुकको अवस्था संकटमा थियो । दक्षिणी छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगाएको थियो । बजारमा पेट्रोलिमय पदार्थको हाहाकार मच्चिएको थियो । त्यति हुँदाहुँदै पनि जनताले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थिए । त्यसको एउटै कारण थियो त्यसबेला प्रधानमन्त्री ओलीले देखाएको राष्ट्रवाद ! स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकलाई छिमेकी मुलुकले नाकाबन्दी लगाउन पाइँदैन भनेर नाकाबन्दीको विरोधमा प्रधानमन्त्री लागेका थिए । प्रधानमन्त्री ओलीले देखाएको राष्ट्रवादका कारण जनताले ओली नेतृत्वको सरकारलाई सहयोग र समर्थन गरेको थियो ।
संकटपूर्ण अवस्थामा जनता बाँच्न बाध्य भएको भए पनि कसैले पनि त्यसबेला सरकारको विरोध गरेका थिएनन् । त्यसबेला ओलीले देखाएको राष्ट्रवादकै कारण गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाई मत पाएको थियो । तर केपी ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा मुलुक सहज अवस्थामा थियो । उनैको पार्टीले झण्डै दुई तिहाई मत ल्याएकोले सरकार निर्माणमा कुनै कठिनाई थिएन, नेपालको इतिहासमै शक्तिशाली प्रधानमन्त्री बन्न ओलीले सौभाग्य पाएका थिए ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पश्चात निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको केपी ओली नेतृत्वको सरकारबाट जनताले धेरै आशा एवं विश्वास गरेका भएपनि जनताको त्यस्ता आशा एवं विश्वास गरेका प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री बन्दा देखाएको राष्ट्रवाद त नक्कली राष्ट्रवादमा परिणत भएको छ । सत्ता हत्याउनैका लागि मात्र उनले पहिले राष्ट्रवादको नारा दिएका रहेछन् भन्ने अहिले प्रमाणित हुँदै गएको छ । दोस्रो पटक प्रधानमन्त्री बन्दा प्रधानमन्त्रीले उद्घोष गरेका थिए, आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर तर प्रधानमन्त्रीको त्यस्तो उद्घोष हावामै सिमित भएको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नका लागि खरिद गरिएको औषधि र उपकरणमा समेत भ्रष्टाचार भएको छ । सञ्चारमाध्यमहरुले औषधी खरिदमा भ्रष्टाचार भएको समाचार प्रकाशित प्रसारित गरेपछि सञ्चारमाध्यमकै विरोधमा प्रधानमन्त्री खनिए ।
पछिल्लो समयमा सिंहदरबार भित्रै भ्रष्टाचारले व्यापकता पाएको छ भने स्थानीय तहहरु त भ्रष्टाचारकै अखडा बनेका छन् । भ्रष्टाचारलाई रोकथाम र नियन्त्रण गर्न स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धानकै आयुक्तहरुले मुलुकमा भ्रष्टाचार बढ्दै गएको बताइरहेको छ । दिनहुँ जस्तो अख्तियारले रङ्गेहात भ्रष्टाचारीहरुलाई पक्राउ गरिरहेको छ । यति हुँदाहुँदै पनि प्रधानमन्त्री भने भ्रष्टाचारीहरुलाई नछोड्ने उद्घोष गर्न पछि परेका छैनन् । भ्रष्टाचारको मुहान भनेको राजनीतिक दल र सरकार नै हुन् । राजनीतिक दल र सरकारले शुद्ध आचरण देखाउन सकेको खण्डमा भ्रष्टाचारमा कमी आउन सक्छ । आजसम्ममा विश्वमा कहिँकतै भ्रष्टाचार निर्मुल हुन सकेको छैन, न्यूनीकरण भने भएको छ । सरकारले गर्ने सरुवा, बढुवामा समेत आर्थिक चलखेल हुँदै आएका समाचारहरु बेला बेलामा प्रकाशित हुँदै आएका छन् । तर त्यस विषयमा सरकार मौन रहेको छ ।
पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा प्रधानमन्त्री सहितको केही मन्त्रीहरु र प्रधानमन्त्री निकटका व्यक्तिहरु आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुका विरुद्ध खनिन थालेका छन् । पार्टीका दुई अध्यक्ष मध्येका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य वरिष्ठ नेताहरुका विरुद्धमा बोल्ने र लेख्ने व्यक्तिहरुलाई सरकारले धमाधम राजनीतिक नियुक्ति दिन थालेको छ । मानौँ प्रधानमन्त्री ओली र उनका गुटमा लेख्ने र बोल्ने व्यक्ति मात्र राजनीतिक नियुक्ति पाउने आधार बनाइएको छ ।
सरकारले गरेका गल्ती, कमी कमजोरीका बारेमा कलम चलाउने व्यक्तिहरु नेकपाकै सदस्य भएपनि उनीहरुलाई मानमर्दन गर्न थालिएको छ । केही महिना अगाडि प्रधानमन्त्रीले उद्घोष गरेका थिए सुखी नेपाली समृद्ध नेपाल, अहिले त्यो नारा ठ्याक्कै बदलिएको छ, सुखी नेता समृद्ध परिवार । हिजो सामान्य चप्पल सम्म लगाउन नसक्ने व्यक्तिहरु आज कसरी पजेरेको मालिक भए, राजनीतिमा लागेपछि दुई चार वर्षमै अबौ सम्पत्तिका मालिक कसरी हुन्छ, प्रधानमन्त्री ज्यू ? प्रधानमन्त्री केपी ओलीको अढाई वर्षे कार्यकालको पछिल्लो समयमा प्रधानमन्त्री ओली प्रतिशोधको राजनीतिमा लागेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई समेत प्रतिशोध लिन पछि नपर्ने व्यक्तिले अन्य दल र जनतालाई प्रतिरोध लिँदैनन् भनेर कसरी विश्वास गर्न सक्छाँै त ?
































