kumari
stcnepal

नेकपाभित्र विचौलियाहरुको चलखेल

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका बैठकहरु पार्टी कार्यालयमा विरलै त्यहाँ बस्ने गरेका छन् । पार्टीका अध्यक्ष नै प्रधानमन्त्री रहेका हुनाले पार्टीका हरेक तहका बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने गरेका छन् । तर पार्टीले बनाएका विभिन्न समितिका बैठकहरु भने पार्टीसँग असम्बन्धित भएका व्यक्तिहरुको घरमा बस्ने गरेका हुनाले पार्टीको गरिमा नै समाप्त हुन लागेको छ । केही दिन पहिला नेकपाभित्र रहेको आन्तरिक द्वन्द्व समाधान गर्न भनेर दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको सहमतिमा पार्टीका महासचिवको संयोजकत्वमा एक समिति बनाइएको थियो ।

उक्त समितिको पहिलो बैठक पुर्ननिमांण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भैसेपार्टीमा रहेको घरमा बसेको थियो । निज ज्ञवालीले, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन लविङ्ग गरेका व्यक्ति थिए । उनलाई लगानी बोर्डको कार्यकारी अधिकृत बनाउन पार्टीका महासचिव विष्णु पौडेलले लविङ्ग गरेका भएपनि उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्न असफल भएका व्यक्ति हुन् । पुर्ननिर्माण प्राधिकरणको समयावधि आउँदो माघ महिनामा समाप्त हुने भएपछि अहिले नै अर्को ठाउँमा गएर आफ्नो नियुक्तिलाई सुरक्षित गर्न चाहिरहेका छन् ।

भैसेपार्टीमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र पार्टीका महासचिव पौडेल दुवैका सुविधा सम्पन्न घरहरु रहेका छन् । भैसेपार्टी मै ज्ञवालीको समेत सुविधा सम्पन्न घर रहेको हुनाले पार्टीको महासचिव विष्णु पौडेलले पार्टीको विवाद मिलाउन गठन गरिएको समितिको पहिलो बैठक आफ्नो निवासमा नराखेर ज्ञवालीको घरमा राख्नु भएको थियो । निज ज्ञवाली लगानी बोर्डको कार्यकारी अधिकृत हुन नपाएपछि उनका आँखा नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि लागेका छन् । उनलाई विष्णु पौडेलले साथ दिएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ्गको पदावधि करिब एक महिनामात्र बाँकी रहेको हुनाले महासचिव पौडेल, ज्ञवालीलाई नै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउन लागि परेका र विवाद समाधान समितिका सदस्यहरुलाई समेत प्रलोभनमा पार्ने उदेश्यले ज्ञवालीको घरमा बैठक राखिएको हो ।

नेकपाका समर्थक र केही माफियाहरुका घरमा नेकपाका महत्वपूर्ण निर्णयहरु यसभन्दा अघि पनि हुने गरेका थिए । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा केपी ओली प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्को विस्तार र मन्त्रालयको भागवण्डाका बारेमा छलफल भएको थियो । त्यसैगरी ठेकेदार शारदा प्रसाद अधिकारीको घर खुमलटारमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गर्ने विषयमा पटक पटक त्यहाँ बैठक बसेको र त्यही बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो ।

पार्टी एकीकरण नहुँदै व्यापारी नविन कँडेलको घरमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावमा गठबन्धन गर्ने निर्णय भएको थियो । यसरी सत्ताधारुी दलका महत्वपूर्ण बैठकहरु व्यापारी, ठेकेदारहरुको निवासमा बस्ने गरेको हुनाले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र विभिन्न खालका विचौलियाहरुको प्रभाव बढेको र उनीहरुकै स्वार्थ अनुरुपका निर्णयहरु हुने गरेको हुनाले नेकपा विधि विधानले होइन विचौलियाको स्वार्थका लागि पुरा गर्ने पार्टीमा परिणत हुँदै गएको छ ।

footer