सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतान्त्रिक एकदलीय राज सुरु भयो

416
shares

 

राजन कार्की
यो कस्तो परिवर्तन हो ? ०४६ सालदेखि उनै बुढा नेताहरुलाई जनता स्वीकारीरहेका छन् । यिनका चरित्रमा तात्वीक अन्तर केही पनि आएको छैन । फेरि पटक पटक यिनै सत्तामा जान्छन् र शासन गर्छन् । असफल हुन्छन् र असफल पारिन्छन् र पालैपालो सत्तासुख भोग गरिरहन्छन् ।
लोकतन्त्रमा सुखभोग लोकको भागमा पर्नुपर्ने हो । दुःखजति लोकका थाप्लामा बज्रिरह्यो । लोक जति मरे पनि हुने, नेता मर्नै नहुने । विश्वमै नभएको लोकतन्त्र नेपालमा चलिरहेको छ । हाउसफूलका साथ चलिरहेको छ । गल्ती औंल्याउने, सुधार गर्ने र सही मार्ग देखाउन कोही पनि तैयार छैनन् । जिम्मेवारविहीनहरुको शासन र शासनको आरती भजन लोकतन्त्र भएको छ ।
मरेको संसद राजाले ब्यूँताए, राजतन्त्र नै सखाप भयो । मरेको संसद सर्वोच्चले ब्यूँताइदियो, मरेतुल्यहरु नयाँ राजा बने । राजतन्त्र र हिन्दुराष्ट्र ब्यूँताउन भूमिका खेल्नेहरु ताक परे तिवारी नत्र गोतामे अभिनय गरिरहेका छन् ।
लोकतन्त्रमा निर्दलीयता ! अचम्मको अभ्यास सुरु भएको छ ।

०१७ सालदेखि निर्दलको विरोध गर्नेहरुले ०४६ सालमा बहुदल ल्याए, बहुलाजस्तो बनेर सकिए । ०६३ सालमा लोकतन्त्र ल्याए लुटतन्त्र चलाइरहे । यतिबेला लोकतान्त्रिक एकदलीयतन्त्र सुरु भएको छ । तर यो पञ्चायत होइनरे ? पञ्चायत होइन, तर एकदलीय अभ्यास हो । यसलाई भनिन्छ, संविधानको नोज डाइभ ।
आफ्नै दलका सदस्यले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सरकार बनाउन समर्थन गर्ने । कस्तो लोकतन्त्र हो ? अदालत भन्छ– ह्वीप लाग्दैन, समर्थन गर्न पाइन्छ । यो संवैधानिक व्यवस्था उत्कृष्ठ रे ।
राजाले जनताको नासो जनतालाई बुझाए । नेताहरुले लखनौं लूट मच्चाएर, लूटका धन फुपुका श्राद्ध गरिरहेका छन् । यिनले दरवारलाई संग्रहालय बनाए, श्रीपेच, राजदण्डलाई प्रदर्शनमा राखे र आफूलाई श्री ६ को दर्जामा स्थापित गरे । आज राजा छैनन्, राजनेता पनि छैनन्, यी श्री ६ हरुले राजा नभएको मुलुक कस्तो हुन्छ, त्यसको नमूना देखाइदिएका छन् । राजा भनेको कानुनको शासन थियो, राजा किनारा लगाएपछि नेपालमा यी श्री ६ हरुको भागबण्डे हुकुमी शासन चलिरहेको छ । हुकुमी शासनमा ओलीले विश्राम लिए, शेरबहादुर देउवा भन्ने अर्का बुढा शासनमा उक्लिएका छन् ।
जुन देशमा कानुनव्यवस्थाभन्दा व्यक्ति माथि हुन्छ, सेटिङमा अदालती बन्दोवस्त चल्छ । त्यो देशमा लोकतन्त्र छ भनेर भन्नु आकाशतिर फर्केर थुकेजस्तै हो । नेपालको गति मति र दिशा यही छ ।
अवसरको सदुपयोग गर्न सकेको भए, जनअपेक्षामा घोटिएर टिलिक्क टल्कन सकेको भए राजा नागरिकका ठाउँमा हुन्थे, यिनीहरु राजनेता बन्थे । राजनेताका नाममा भ्रष्टाचारलाई सदाचार भन्नेहरु यतिबेला खिया लागेका फलाम बनेका छन्, यसकारण पनि राजदण्ड र श्रीपेच पुर्नस्थापना हुन जरुरी भएको छ ।
नेपालको स्थिति कस्तो भयो भने चोरलाई चौतारो, साधुलाई सुली । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ यही हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउँछु भन्नेहरुसँग निष्ठा छैन । सरकार छ सीमाको सुरक्षा गर्दैन । बिधानले काम नगरेपछि देश देशजस्तो होइन, जंगलजस्तो हुनेरहेछ । नेपालजस्तो सुन्दर, शान्त र विविधिकरणको विशेषता रहेको नेपालमा जंगलराज छ भन्दा फरक पर्दैन । किनकि यहाँ जुनसुकै पद, कानुनलाई समेत किन्न पाइन्छ ।लोकतन्त्रको नाममा अपराधशाला हो नेपाल ।

परिवर्तन हुन्छ, सत्ता परिवर्तनपछि जो सत्तामा गए पनि ठूला ठूला सपना देखाउँछन् । सपनाको देश हो नेपाल । सपना देख्नुपर्छ, देखाउनु पनि पर्छ । सपना पूरा गर्न इच्छाशक्ति चाहिन्छ । त्याग, बलिदान र योग्यता पनि चाहिन्छ । अयोग्यहरुले देखेको सपना भनेको शोम शर्माले देखेको सपना र लात्ताले हान्दा फुटेर शरीरभरि पिठै नै पिठो भएको नीतिकथाजस्तो हो ।
देशलाई सत्यमा हाँक्ने नेता चाहिएको छ । सपना देखाएर भुलभुलैयामा भुलाउने नेताले देश बिगारे । भताभुङ्ग पारेर आफूमात्र सम्पन्न बन्ने काम गरे । देशले खोजेजस्तो नेता कहिले पनि पाएन ।
छन् पूर्वराजा छन्, हिन्दुवादी पनि छन्, सबै चुपचाप छन् । किन उनीहरु धर्म र पुर्षाहरुप्रति जिम्मेवार हुनसकेका छैनन् ? जनताले भोगेको दुःखमा, पीडामा, हुटहुटी र छटपटीमा हिन्दुवादी र राजा देखिदैनन् ।
हिन्दुवादी र पूर्वराजा छन् भने, अव उनी देखिनुपर्छ । जनताको लहरमा देखिनुपर्छ । जनताको नाराजुलुस र जनताको अपेक्षामा देखिनुपर्छ । लावण्यदेशको हात्तीको पर्खाइमा राष्ट्र निर्माताका पूर्वजले भद्रो हेरेर बसिरहने होइन, देशको जिम्मेवारी अँगबर गरेर जनताको साथमा निस्कनुपर्छ । जहाँ बस, जनताको आवाजमा बस्नुपर्छ, जनताको अपेक्षा र आशामा बस्नुपर्छ । किनकि राष्ट्रनिर्माताले नेपाललाई जंगलीराज चलोस् भनेर बनाइदिएका होइनन् ।
चोरलाई भण्डारे बनायो भने चोरी हुँदैन भन्ने हाम्रो समाजमा लोकोक्ति छ । तर, परिवर्तनपछि नेताजति सम्पन्न, सम्भ्रान्त बने, नेता बनाउने शक्ति लोकतन्त्रका निर्णायक शक्ति कमजोर, ख्याउटे र रोगी बनेका छन् । आमनागरिक राजनीतिको सकस सहन गर्न नसकेर दिनदिनै मरिरहेका छन् । मर्नु श्वास रोकिनु मात्र होइन, मन भुटभुटिएर छटपटिएर बाँच्नु पनि मर्नु हो ।
जनतामाथि करको भार छ, जनतामाथि ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरु कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरु सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । कबुल गर्ने अनि आफ्नो बचन आफैले उल्लंघन गर्ने भनेको नराधम हो, नराधम काम राजनीति र प्रशासनबाट भइरहेको छ । जनताले तिरेको कर देश र जनताको पहरेदारीका लागि हो । करलाई भ्रष्टाचार र कार्यकर्ता पाल्ने पञ्चदेवलको हण्डी बनाए । न जनताको, न देशको पहरेदारी हुनसक्यो । जनता र देश दुबै देशी विदेशीबाट लुटिएका छन् । लुटिने क्रम तीब्र रुपमा बढेको छ ।
नेताको हालत के छ भने जनताको विश्वास छैन, जनताको साथ छैन । बाध्य भएर मतदान गरेका हुन् । त्यही मतदान जनताका लागि अभिषाप बनेको छ । नेताहरु लज्जाहीन बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । जनताले भ्रष्टाचार र अपराधमात्र देखिरहेका छन् । व्यवस्थामा परिवर्तन आयो, व्यवस्था चलाउनेको चरित्रमा सुध्रिन सकेन । नेताहरुको काइते कुरा धेरै भयो, राष्ट्र र जनता धेरै घाइते भए । यस्तो संवैधानिक परिवर्तनको के अर्थ, न हलो भयो, न मुङ्ग्रो ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports