लोकतान्त्रिक एकदलीय राज सुरु भयो
वि.सं.२०७८ असार ३१ बिहीवार १६:४४
shares

राजन कार्की
यो कस्तो परिवर्तन हो ? ०४६ सालदेखि उनै बुढा नेताहरुलाई जनता स्वीकारीरहेका छन् । यिनका चरित्रमा तात्वीक अन्तर केही पनि आएको छैन । फेरि पटक पटक यिनै सत्तामा जान्छन् र शासन गर्छन् । असफल हुन्छन् र असफल पारिन्छन् र पालैपालो सत्तासुख भोग गरिरहन्छन् ।
लोकतन्त्रमा सुखभोग लोकको भागमा पर्नुपर्ने हो । दुःखजति लोकका थाप्लामा बज्रिरह्यो । लोक जति मरे पनि हुने, नेता मर्नै नहुने । विश्वमै नभएको लोकतन्त्र नेपालमा चलिरहेको छ । हाउसफूलका साथ चलिरहेको छ । गल्ती औंल्याउने, सुधार गर्ने र सही मार्ग देखाउन कोही पनि तैयार छैनन् । जिम्मेवारविहीनहरुको शासन र शासनको आरती भजन लोकतन्त्र भएको छ ।
मरेको संसद राजाले ब्यूँताए, राजतन्त्र नै सखाप भयो । मरेको संसद सर्वोच्चले ब्यूँताइदियो, मरेतुल्यहरु नयाँ राजा बने । राजतन्त्र र हिन्दुराष्ट्र ब्यूँताउन भूमिका खेल्नेहरु ताक परे तिवारी नत्र गोतामे अभिनय गरिरहेका छन् ।
लोकतन्त्रमा निर्दलीयता ! अचम्मको अभ्यास सुरु भएको छ ।
०१७ सालदेखि निर्दलको विरोध गर्नेहरुले ०४६ सालमा बहुदल ल्याए, बहुलाजस्तो बनेर सकिए । ०६३ सालमा लोकतन्त्र ल्याए लुटतन्त्र चलाइरहे । यतिबेला लोकतान्त्रिक एकदलीयतन्त्र सुरु भएको छ । तर यो पञ्चायत होइनरे ? पञ्चायत होइन, तर एकदलीय अभ्यास हो । यसलाई भनिन्छ, संविधानको नोज डाइभ ।
आफ्नै दलका सदस्यले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सरकार बनाउन समर्थन गर्ने । कस्तो लोकतन्त्र हो ? अदालत भन्छ– ह्वीप लाग्दैन, समर्थन गर्न पाइन्छ । यो संवैधानिक व्यवस्था उत्कृष्ठ रे ।
राजाले जनताको नासो जनतालाई बुझाए । नेताहरुले लखनौं लूट मच्चाएर, लूटका धन फुपुका श्राद्ध गरिरहेका छन् । यिनले दरवारलाई संग्रहालय बनाए, श्रीपेच, राजदण्डलाई प्रदर्शनमा राखे र आफूलाई श्री ६ को दर्जामा स्थापित गरे । आज राजा छैनन्, राजनेता पनि छैनन्, यी श्री ६ हरुले राजा नभएको मुलुक कस्तो हुन्छ, त्यसको नमूना देखाइदिएका छन् । राजा भनेको कानुनको शासन थियो, राजा किनारा लगाएपछि नेपालमा यी श्री ६ हरुको भागबण्डे हुकुमी शासन चलिरहेको छ । हुकुमी शासनमा ओलीले विश्राम लिए, शेरबहादुर देउवा भन्ने अर्का बुढा शासनमा उक्लिएका छन् ।
जुन देशमा कानुनव्यवस्थाभन्दा व्यक्ति माथि हुन्छ, सेटिङमा अदालती बन्दोवस्त चल्छ । त्यो देशमा लोकतन्त्र छ भनेर भन्नु आकाशतिर फर्केर थुकेजस्तै हो । नेपालको गति मति र दिशा यही छ ।
अवसरको सदुपयोग गर्न सकेको भए, जनअपेक्षामा घोटिएर टिलिक्क टल्कन सकेको भए राजा नागरिकका ठाउँमा हुन्थे, यिनीहरु राजनेता बन्थे । राजनेताका नाममा भ्रष्टाचारलाई सदाचार भन्नेहरु यतिबेला खिया लागेका फलाम बनेका छन्, यसकारण पनि राजदण्ड र श्रीपेच पुर्नस्थापना हुन जरुरी भएको छ ।
नेपालको स्थिति कस्तो भयो भने चोरलाई चौतारो, साधुलाई सुली । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ यही हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउँछु भन्नेहरुसँग निष्ठा छैन । सरकार छ सीमाको सुरक्षा गर्दैन । बिधानले काम नगरेपछि देश देशजस्तो होइन, जंगलजस्तो हुनेरहेछ । नेपालजस्तो सुन्दर, शान्त र विविधिकरणको विशेषता रहेको नेपालमा जंगलराज छ भन्दा फरक पर्दैन । किनकि यहाँ जुनसुकै पद, कानुनलाई समेत किन्न पाइन्छ ।लोकतन्त्रको नाममा अपराधशाला हो नेपाल ।
परिवर्तन हुन्छ, सत्ता परिवर्तनपछि जो सत्तामा गए पनि ठूला ठूला सपना देखाउँछन् । सपनाको देश हो नेपाल । सपना देख्नुपर्छ, देखाउनु पनि पर्छ । सपना पूरा गर्न इच्छाशक्ति चाहिन्छ । त्याग, बलिदान र योग्यता पनि चाहिन्छ । अयोग्यहरुले देखेको सपना भनेको शोम शर्माले देखेको सपना र लात्ताले हान्दा फुटेर शरीरभरि पिठै नै पिठो भएको नीतिकथाजस्तो हो ।
देशलाई सत्यमा हाँक्ने नेता चाहिएको छ । सपना देखाएर भुलभुलैयामा भुलाउने नेताले देश बिगारे । भताभुङ्ग पारेर आफूमात्र सम्पन्न बन्ने काम गरे । देशले खोजेजस्तो नेता कहिले पनि पाएन ।
छन् पूर्वराजा छन्, हिन्दुवादी पनि छन्, सबै चुपचाप छन् । किन उनीहरु धर्म र पुर्षाहरुप्रति जिम्मेवार हुनसकेका छैनन् ? जनताले भोगेको दुःखमा, पीडामा, हुटहुटी र छटपटीमा हिन्दुवादी र राजा देखिदैनन् ।
हिन्दुवादी र पूर्वराजा छन् भने, अव उनी देखिनुपर्छ । जनताको लहरमा देखिनुपर्छ । जनताको नाराजुलुस र जनताको अपेक्षामा देखिनुपर्छ । लावण्यदेशको हात्तीको पर्खाइमा राष्ट्र निर्माताका पूर्वजले भद्रो हेरेर बसिरहने होइन, देशको जिम्मेवारी अँगबर गरेर जनताको साथमा निस्कनुपर्छ । जहाँ बस, जनताको आवाजमा बस्नुपर्छ, जनताको अपेक्षा र आशामा बस्नुपर्छ । किनकि राष्ट्रनिर्माताले नेपाललाई जंगलीराज चलोस् भनेर बनाइदिएका होइनन् ।
चोरलाई भण्डारे बनायो भने चोरी हुँदैन भन्ने हाम्रो समाजमा लोकोक्ति छ । तर, परिवर्तनपछि नेताजति सम्पन्न, सम्भ्रान्त बने, नेता बनाउने शक्ति लोकतन्त्रका निर्णायक शक्ति कमजोर, ख्याउटे र रोगी बनेका छन् । आमनागरिक राजनीतिको सकस सहन गर्न नसकेर दिनदिनै मरिरहेका छन् । मर्नु श्वास रोकिनु मात्र होइन, मन भुटभुटिएर छटपटिएर बाँच्नु पनि मर्नु हो ।
जनतामाथि करको भार छ, जनतामाथि ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरु कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरु सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । कबुल गर्ने अनि आफ्नो बचन आफैले उल्लंघन गर्ने भनेको नराधम हो, नराधम काम राजनीति र प्रशासनबाट भइरहेको छ । जनताले तिरेको कर देश र जनताको पहरेदारीका लागि हो । करलाई भ्रष्टाचार र कार्यकर्ता पाल्ने पञ्चदेवलको हण्डी बनाए । न जनताको, न देशको पहरेदारी हुनसक्यो । जनता र देश दुबै देशी विदेशीबाट लुटिएका छन् । लुटिने क्रम तीब्र रुपमा बढेको छ ।
नेताको हालत के छ भने जनताको विश्वास छैन, जनताको साथ छैन । बाध्य भएर मतदान गरेका हुन् । त्यही मतदान जनताका लागि अभिषाप बनेको छ । नेताहरु लज्जाहीन बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । जनताले भ्रष्टाचार र अपराधमात्र देखिरहेका छन् । व्यवस्थामा परिवर्तन आयो, व्यवस्था चलाउनेको चरित्रमा सुध्रिन सकेन । नेताहरुको काइते कुरा धेरै भयो, राष्ट्र र जनता धेरै घाइते भए । यस्तो संवैधानिक परिवर्तनको के अर्थ, न हलो भयो, न मुङ्ग्रो ?
































