थलीमा स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै फेरि गरे सडक अवरुद्ध
वि.सं.२०७९ भदौ ५ आइतवार ०९:५१
shares

काठमाडौं ।चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानै देखि बाटो बन्द गराएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजे देखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । स्थानीय निश्चल नेपालका अनुसार स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ–जाउ गर्न रोक लगाएका छन् ।
थली खण्डको करिब ८ सय मिटर बाटो पिच हुन बाँकी छ । २०७७ साल देखि नै त्यहाँका स्थानीयले बाटो पिच गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । तर उनीहरुको माग सम्बोधन भएको छैन । यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए । सो क्षेत्र बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर बाटो पिच गर्न दबाब दिएका थिए । उनले भोलि नै ठेकदारलाई बाटो पिच गर्न लगाउने भनेपछि स्थानीय पछि हटेका थिए । तर अहिलेसम्म बाटो पिच नभएपछि स्थानीयले पुनः बाटो बन्द गराएका हुन् ।
बाटोमा उनीहरुले राखेको एक सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत–जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्रयाइँ र फटाइ विरुद्ध सडक बन्द गराएको उल्लेख छ ।


































