प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीति संसदमा, कूटनीति भूराजनीतिमा अड्कियो

351
shares

 

विपक्षीले तीललाई पहाड बनाएर राजनीतिलाई संसदमा अड्काएका छन् । राजनीति अड्किएपछि कूटनीति भूराजनीतिमा अड्किएको छ । पक्ष विपक्ष मिले देशलाई बनाउने कुरामा विपक्षीले साथ दिएनन् । सत्तारुढ दललाई छिन्नभिन्न पार्न विपक्षी कम्मर कसेर लागेका छन् । कमजोर विपक्षीले शक्तिशाली सत्तारुढ दललाई तितरबितर पार्ने अनेक प्रयास गरिरहेका छन् । कुहिनाले पहाड फोर्छ कि पहाडले कुहिनो भाँच्छ ? जेनजी बिद्रोहले ल्याएको परिवर्तनलाई जनजीवनमा उतार्न सत्तारुढलाई फलामको च्यूरा चपाएजस्तै हुनथालेको छ । भाषणबाजमा पोख्त विपक्षीहरु काम गर्न आएकालाई पाइला पाइलामा अल्झाइरहेका छन् । छिर्की हानिरहेका छन् ।
नागरिक सर्वोच्चता राजनीतिक प्रणालीको जग हो । त्यो जगमा उभिएको छ सत्तापक्ष । तर प्रतिपक्षी सत्तापक्षलाई उखेल्न लागिपरेका छन् । कसले कसलाई उखेल्छ, कसले कसलाई विधिको शासनमा बाँध्छ ? समयले सत्तापक्ष र विपक्षीको परीक्षा लिन थालेको छ ।
तनाव विश्वभरि छ । तनाव नेपाललाई पनि छ । देशलाई कसरी सुरक्षित भूराजनीतिबाट बचाएर अघि बढ्ने भन्ने विषयमा अमेरिका भन्दा जेठो मुलुक नेपालमा राजनीतिज्ञहरुले सोच्नै सकेनन् ।
नेपालले आँप आयातमा रोक लगायो भनेर भारतले नेपालको चियालाई बोटमै, बजारमै, बाटोमै कुहाइदिन थालेको छ । नेपाल सरकार र बालेन सरकारवीच सद्भावको सम्बन्ध चुँडिएको छ । सीमा समस्या र प्रम बालेनले तत्काल विदेश भ्रमण गर्दिन भनेपछि भारतको मन कुढिएको हो, त्यसैले बालेन सरकारलाई पाठ पढाउन भारत अग्रसर भएको छ । यता चीनले नेपाललाई सुसम्बन्धको सन्देश परराष्ट्रमन्त्रीमार्फत दिइसकेको छ । यसैवीच चीनले भारत अथवा पश्चिमा जो कुनै मुलुकका लागि भनिसकेको छ– चीनलाई कमजोर नठान । हामी पहिलो गोली हान्दैनौं । जसले पहिलो गोली हान्छ, त्यसलाई दोस्रो गोली हान्न बाँकी नै राख्दैनौं ।
नेपालका लागि भारत र चीन उत्तिकै महत्वका छिमेकी हुन् । तर नेपालमा हाम्रो पनि चासो छ भनेर अमेरिका एमसीसी परियोजनामार्फत पसिसकेको छ । भारत अमेरिका र रुससँग उत्तिकै सम्बन्ध राखिरहेको छ । रुस पनि नेपालमा चुप लागेर बसेको छैन । रुसका सशक्त राजदूत नेपालमा कार्यभार सम्हालेर आइसकेका छन् । रुस, चीन, अमेरिका, भारत नेपालका लागि शक्तिशाली अर्थतन्त्र र अतासलाग्दा सामरिक शक्तिहरु हुन् । ती सबै शक्तिहरु भूराजनीतिक महाभारत बनेर नेपालमा उपस्थित छन् । शक्तिशालीहरुको प्रतिस्पर्धा देखिनु र मल्लयुद्ध गर्ने भूमि नेपाल बन्नु नेपालका लागि चुनौति र अवसर दुबै हुन् । नेपालले बुद्धिमत्तापूर्ण रणनीति लिएर अघि बढ्न सके ती शक्तिहरुको सानोतिनो सहयोगले नेपालको आर्थिक अवस्था नै बदलिन सक्छ तर रणनीति कमजोर बन्यो भने अभिषाप हुनजानेछ । यसकारण राजनीतिक संवाद, सहमति र सहकार्य अति जरुरी छ । तर सत्तारुढ र प्रतिपक्षीवीच जुनप्रकारको एकदोस्रालाई खुइल्योन प्रतिस्पर्धा सडक, संसदमा देखिएको छ, आएको राजनीतिक परिवर्तन नेपाल र नेपालीका लागि बरदान सावित हुनसक्ने सम्भाबना कमजोर बन्दै गएको देखिन्छ ।
शक्तिशाली मुलुकहरु एमसीसी, एसपीपी, बीआरआई लगायतका सञ्जाल, व्यापार र विज्ञान र नवप्रवर्तन–प्रविधिमा नेतृत्वदायी भूमिका बिस्तार गर्दै अगाडि बढेका छन् । नेपाल गाँस, बास, कपासमै अल्झिएको छ । उत्पादन छैन, निर्यात पनि छैन । परजीवी बनेर चाउरिनु परेको छ । राजनीतिक परिवर्तनसँगै आत्मनिर्भरताको परिवर्तनको जग बस्ला, राष्ट्रिय एकता र जनताको मुहारमा उज्यालो छाउला भन्ने विश्वास जेनजी आन्दोलनले जगायो, सरकार गठन र विपक्षीको असहयोग प्रताडनाले अँध्यारो पार्दै लगेको छ ।
अमेरिका रुस र चीनको गति रोक्न र तिनलाई कमजोर पार्न अग्रसर छ । रुस र चीनको बेग हिमाले डाँफेको जस्तो बढ्दै बढ्दैछ । यी तिनै मुलुकको सामरिक सामथ्र्य कसको कति हो भन्ने अनुमान गर्नै मुस्किल छ । यी शक्तिहरु स्वस्थ प्रतिस्पर्धाको कुरा गरिरहेका छन्, संवाद पनि गर्छन् र यिनीहरुवीच अतासलाग्दो मतभेद पनि देखिन्छ । भारत उदाउँदो शक्ति हो, जुन नेपालको १८८० किलोमिटर खुला सिमाना जोडिएको मुलुक हो । भारतको सहयोग र असहयोग दुबै नेपालका लागि भारका रुपमा हेरिन्छ । यसकारण नेपालको सन्तुलित नीति जरुरी छ । नेपालको राजनीति र कूटनीति दुबै क्षेत्रमा दुबै छिमेकी र शक्तिराष्ट्रसँग चुनौतिपूर्ण रहेको छ ।
चीन, अमेरिका र रुस कुन अभेद्य हो, यो उनीहरुवीचको सवाल हो । नेपालको सवाल अमेरिकाभन्दा जेठो भएर पनि सधैं अस्थिर, अराजक किन छ ? यो देशलाई कसरी सवार्ने, सपार्ने, यो सोच राजनीतिक क्षेत्रको महत्वमा परेन । नेपालको राजनीति लामो समयदेखि स्वार्थको चक्रव्यूहमा घुमिरह्यो । बल्ल तल्ल संविधान सडकमा पछारेर उदय भएको रास्वपाको सरकार छ, यो सरकारलाई सही मार्गमा लगेर सहयोग गरौं भन्ने पुराना दलहरुको दूरगामी विवेक नै देखिएन । जब विवेक हराउँछ, त्यतिबेला अनहोनी बढी हुन्छ । नेपालको राजनीतिले स्वत्व गुमाएर शत्रुनासको एकसूत्रीय एजेण्डा सडकदेखि संसदसम्म देखिनु बिडम्बना हो ।
शक्तिमुलुकहरु प्रभुत्व कायम राख्ने, बिस्तार गर्ने योजनामा छन्, नेपाल कसरी बाँच्ने, स्वराज बचाउने नाङ्गो तरवारको जोखिममा छ । यो जोखिमबाट बच्ने भनेको राष्ट्रिय एकताले नै हो । त्यो एकताका लागि पुराना दलहरुले नयाँलाई प्रेरित गर्नुपर्ने हो । नयाँका गल्तीलाई समातेर नयाँको टुपी उखेल्ने होइन, नयाँलाई सिकाउने जिम्मेवारी पनि पुरानाकै हो । त्यो जिम्मेवारीबाट पुरानाहरु चुकेका छन्, नयाँहरुले पनि पुरानासँग सिक्न चाहेको सीप देखाएका छैनन् ।
देशमा राजनीतिक अन्यौल बढेको छ, कूटनीतिक गल्तीहरु बढेका छन् ।
नेपालको शान्तिक्षेत्रको प्रस्ताव देश बचाउने प्रस्ताव थियो, जसलाई भारतको असहयोगले असफल पारिदियो । सार्क थियो, जसलाई भारतले नै मारिदियो । भारत, चीन, अमेरिका, रुस अथवा युरोपियनहरु आआफ्ना अभिष्ठ बोकेर आएका छन् । नेपालको अभिष्ठ छायाँमा पर्दै गएको छ । एक व्यक्ति अथवा एक पार्टीले देश बनाउन, बचाउन मुस्किल छ । नेपाललाई जुनसुकै प्रकारको सहयोग चाहिएको छ, सद्भाव नेपालको आवश्यकता हो । सबैभन्दा बढी राजनीतिक र कूटनीतिक सुझबुझले नेपालमाथि कसैले पनि सहकार्य र अहस्तक्षेपको प्राथमिकतामा राख्नुपर्छ भन्ने नेपालको रणनीति हुनैपर्छ । यसका लागि पनि नेपाली राजनीतिक एकता पहिलो शर्त हो ।
नेपालको भूराजनीतिको यथार्थ चित्रबारे प्रत्येक नेपालीमा चेत हाल्नैपर्छ । अझै गल्ती गर्ने र पुर्पुरामा हात राखेर पछुताउने समय छैन नेपालसँग । बौद्धिक समाज, थिङ्क टेंकहरुले अब पार्टीको होइन, देशको आवश्यकताको वकालत गर्नुपर्छ । नेपालको अस्तित्वको डुंगा विश्वशक्तिको समुद्रमा डोलायमान भइसकेको छ । असंलग्न नीति नेपालको धड्कन बनाएर नेपालले परिपक्व कूटनीतिक चाल चल्न सके यो समय नेपालका लागि सौभाग्यको समय हो भन्ने बुझ्नैपर्छ ।
नेपाल बफर स्टेट भन्ने एउटा विवाद जन्मेको छ । नेपाल ‘बफर स्टेट’ होइन । सन् १९२३ मा वर्तमान भारतमा शासन गर्ने बृटिस शासनले समेत नेपाललाई स्वतन्त्र राष्ट्र मान्यो । सन् १९५० को सन्धिले पनि नेपाल–भारत सार्वभौम राष्ट्र मानेको छ । १९५५ देखि नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । यसकारण नेपाल बफ स्टेट होइन । निश्चय नै नेपाल भारत र चीनको चेपोमा छ । यसैले तरुल राष्ट्र भनिएको हो । यहीकारण नेपालले असंलग्नता अपनायो, पञ्चशीलको सिद्धान्त अंगीकार ग¥यो, सन्तुलित सम्बन्ध नेपालको परराष्ट्रनीति मान्यो । वर्तमान सरकारले यो ऐतिहासिक यथार्थलाई कदापि भुल्नु हुँदैन ।
नेपालले भूराजनीतिको दबाबलाई झेल्नैपर्छ, त्यसमा अंश खोज्नुहुन्न । सबैसँग असंलग्नताको सम्बन्ध बिस्तार गरेर अवसर खोज्नुपर्छ । विश्वशक्ति अथवा छिमेकी राष्ट्रहरुसँग राष्ट्रिय सुरक्षा, देशको समृद्धि, व्यापार–बजार–लगानी–प्रविधि बिस्तार नेपालको प्राथमिकता हुनुपर्छ ।
२०६५ साल जेठ १५ गते अवैधानिक तरिकाले राजतन्त्र फालियो, २०७२ को संविधानमा हिन्दुराष्ट्र पन्छाएर धर्मनिरपेक्षता अंगीकार गरियो । यसको नतिजा शुभ हुनसकेन । संविधान नै फेल भयो, राजतन्त्र आज पनि देशको सबैभन्दा ठूलो राजनीतिक मुद्दा बनेर उभिएको छ । अहिले संविधान संशोधनको बहसपत्र तैयार हुँदैछ, त्यसमा सबै प्रकारका राजनीतिक मुद्दाहरुको निकास निस्कने गरी संविधान संशोधन हुनसक्यो भने देशका लागि परिवर्तनको फल हुनसक्छ । यसका साथै संवाद, सहमति र सहकार्य सुरु गरेर राजनीतिक रुपमा बिट मार्न सकियो भने नेपालको सुदूर भविष्य सुरक्षित राख्न सकिन्छ । यस विषयमा अहिले तँलाई पनि म जस्तै बनाइदिन्छु भन्ने विपक्षले समेत गम्भीर भएर सोच्नुपर्छ । किनकि देश रह्यो भने हिजोका पक्ष आज विपक्षमा छन्, आजका विपक्षी भोलि सत्तापक्षमा पुग्नसक्छन् । देश रहे राजनीति रहन्छ भन्ने सबैले बुझौं ।
प्रश्न बालेन साह ली क्वान यु बन्लान् कि रबर्ट मुगाबे ? यो होइन, प्रश्न राजनीतिक सहमति कायम हुन्छ कि हुन्न, देशले नयाँ राजमार्ग पाउला कि नपाउला भन्ने हो ।
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युले सार्वजनिक आवास, महिला सशक्तीकरण, शिक्षा र औद्योगिकीकरणमा काम गरेर सिंगापुरलाई सम्पन्न बनाए । उनलाई बुद्धिजीवीहरुको ठूलो साथ दियो, त्यसमा उनको आँटले पनि काम गरेकै हो । नेपाल लीपथ वा दुर्गतिको मुगाबेपथ कता लाग्दैछ ? यसमा विपक्षीको कति ठूलो हात छ ? यो विषय गम्भीर छ । जनताको मनोविज्ञान विपरित हिड्नु भनेको पतनमार्ग हो । सबैमा हेक्का रहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports