रूपन्देही २ मा सतागठबन्धनले जनमुक्ति पार्टीका थापालाई सहयोग गर्ने निर्णय
वि.सं.२०७९ कात्तिक ९ बुधवार १७:४३
shares

काठमाडाैं ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ।
बुधबार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी अध्यक्ष चित्र बहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी थापालाई समर्थन गर्ने जानकारी दिएका हुन्।
यसअघि रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन बाट नेकपा एकीकृत समाजवादीका राजु गुरूङले उम्मेदवारी दिएका थिए। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने भएको हो।
कर्जा सूचना केन्द्रले २०७४ कात्तिक २८ र असोज ९ मा राजु गुरुङका नामलाई १००८८ र १००३० नम्बरको कालो सूचीमा राखिएको भन्ने जानकारी निर्वाचन आयोगलाई गराएको थियो। यहाँ एमालेका तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्।

































