आज देखि प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू
वि.सं.२०७९ चैत २४ शुक्रवार ०७:२२
shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने । आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले शुक्रबार देखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ । प्रवक्ता पौडेलले उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतलाई आचारसंहिता लागू हुने बताए ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीन वटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ। आचारसंहिता उल्लङ्घन भएको घटना बारे उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यम बाट आधार र कारण खुलाई सो सम्बन्धी प्रमाण समेत संलग्न गरी उजुरी दिन पाउने व्यवस्था गरिएको छ । आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ ।






































