जाजरकोटमा चिसोका कारण एक हप्ता भीत्रमा सात वृद्धवृद्धाको निधन
वि.सं.२०८० मंसिर ३ आइतवार ०७:४७
shares

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण दमका दीर्घरोगी समेत रहेका डुमेको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताएका छन् । मनसरी पनि दमकी दीर्घरोगी भएकी र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाको भनाइ छ ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

































