सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ अब २९ मंसिरमा
वि.सं.२०८० मंसिर २४ आइतवार १६:०९
shares

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विरुद्ध उजुरी दिने व्यक्तिहरु सँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।
अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको उनको भनाइ छ । न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

































