कांग्रेस- एमाले संयन्त्रको आज बैठक बस्दै
वि.सं.२०८२ वैशाख ३ बुधवार १३:२५
shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांगेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दैछ । सत्ता साझेदार दल कांग्रेसकै महामन्त्री गगनकुमार थापा लगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला आज साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ। यसअघि हिजो (मंगलबार) बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । त्यस दिन दुई नेताबीच सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । साथै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने निर्णय पनि भएको थियो ।
उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।





































