ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने
वि.सं.२०८२ असोज २६ आइतवार १२:४२
shares

काठमाडौँ । ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए ।उनले भने, ‘ सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गईसक्यो,दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौ ।’ उनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको , चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम अवस्थामा पुगेको जानकारी दिए । कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको छ ।
त्यसैगरी धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताए । उनले भने, ‘ पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको हो । ’ निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्ने उनले अनुरोध गरे ।सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं.३ वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाएपनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको जानकारी गराए ।
विकास निर्माणको काममा स्थानीयलाई महानगरसँग समन्वय र सहकार्य गर्न अनुरोध गरे । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक् भएको बताउँदै सुशासन र अनुशासन कायम राख्नुपर्ने सबैलाई अनुरोध गरे । वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सहज हुने बताए ।






































