माओवादीसँग एकता गर्नु कुबेलाको सहनाई बजाउँनु हो : झलनाथ खनाल
वि.सं.२०८२ असोज २६ आइतवार १३:०१
shares
????????????????????????????????????
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन् ।
समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका बेला पत्नीको उपचारका लागि भारतमा रहेका नेता खनालले आफ्नो धारणा सार्वजनिक गर्दै यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।‘कमरेडहरु यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ,’ उनले भनेका छन् ।
साथै उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।उनले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’
खनाल यतिवेला भारतको दिल्लीमा छन् । जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि खनाल उनको उपचारका क्रममा भारतमा रहेका हुन् । यहीबेला नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय काठमाडौँमा बसिरहेको छ । बैठकमा पार्टी एकताबारे छलफल र गृहकार्य समेत भइरहेका बेला खनालले ‘कुबेलाको सहनाई नबजाऔं’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
खनालले सचिवालय बैठकलाई पठाएको पत्रमा जेनजी आन्दोलनपछिको राजनीति निर्वाचनतिर केन्द्रित हुँदै गएको बताएका छन् । ‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ’, खनालले पठाएको पत्रमा उल्लेख छ ।साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।






































