अमेरिका र चिन बीचको व्यापार सम्झौतापछि एसियाली शेयर बजारमा उत्साहपूर्ण कारोबार
वि.सं.२०८२ कात्तिक ११ मंगलवार ०८:३२
shares
Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.
अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ। यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने योजना ‘अब प्रभावकारी रूपमा टेबलबाट हटाइएको’ बताए।बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, “शुल्कहरू हटाइनेछ।” उनका अनुसार चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण ढिलाइ गर्न र ‘पर्याप्त मात्रामा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ।
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई ‘स्पष्ट, गहिरो र रचनात्मक’ बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिए।यो प्रगतिले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै हप्ता दक्षिण कोरियामा आयोजना हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुन लागेको भेटका लागि मार्ग प्रशस्त गरेको छ। ट्रम्पको दोस्रो कार्यकालपछि दुई नेताबीच हुने यो पहिलो आमनेसामने भेट हुनेछ।
टोकियो सेयर बजारले सबैभन्दा बढी वृद्धि देखायो। निक्केई २२५ सूचकाङ्क दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै पहिलो पटक ५० हजार अङ्क माथि पुगेको छ। प्रधानमन्त्री साने तकाइचीको प्रो–उत्प्रेरक (प्रो–स्टिमुलस) नीति र कमजोर येनले निर्यातमुखी उद्योगलाई बलियो फाइदा पुर्याएको विश्लेषकहरूले बताएका छन्। तकाइचीले यस आर्थिक वर्षमै रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्याउने घोषणा गरेका छन्। यो पहिले तय गरिएको समयभन्दा दुई वर्ष अघि हो।एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “निक्केईको यो उछाल कुनै संयोग होइन, यो जापानको आर्थिक पुनर्जागरणको मूल्य–सङ्केत हो।”
सियोल बजार पनि दुई प्रतिशतभन्दा बढीले उक्लिँदै पहिलो पटक चार हजार अङ्क माथि बन्द भयो। टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो। हङकङ, साङ्घाई, ताइपेई, सिङ्गापुर र सिड्नी बजारमा पनि सकारात्मक कारोबार देखियो, यद्यपि जकार्ता र मनिला बजारमा सानो गिरावट देखियो।युरोपेली बजारहरूमा लन्डन र फ्रेङ्कफर्ट लाभका साथ खुले भने पेरिस बजार रातोमा झर्योज। अमेरिकाको हालको मुद्रास्फीति तथ्याङ्कले फेडरल रिजर्भबाट ब्याजदर कटौती हुने अपेक्षालाई बल दिँदा वाल स्ट्रिटमा पनि गत शुक्रबार सकारात्मक बन्द भएको थियो।राष्ट्रपति ट्रम्पले क्वालालम्पुरमा पत्रकारहरूसँग भन्नुभयो, “हामी सम्झौतामा पुग्नेमा विश्वस्त छौँ। चीन पनि चाहन्छ, हामी पनि चाहन्छौँ।”
पेपरस्टोनका विश्लेषक माइकल ब्राउनका अनुसार यो वार्ताले यथास्थितिको पुनःस्थापना र व्यापार युद्धमा अस्थायी युद्धविराम ल्याएको हो, यद्यपि यो केवल वार्ताको रणनीति पनि हुन सक्छ।रिपब्लिकन राष्ट्रपति हाल पाँच दिने एसिया भ्रमणमा हुनुहुन्छ। यसमा मलेसिया, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य रहेका छन्। हरेक देशमा व्यापार सम्झौता एजेन्डाको शीर्ष विन्दुमा छन्।
अमेरिकी तामाको मूल्य पनि व्यापार सम्झौताको आशावादमा वृद्धि भएको छ। यसले विश्वव्यापी मागमा सुधारको सङ्केत गरेको छ। यो उपलब्धि महिनौँदेखि बढ्दै गएको तनावपछि आएको हो। गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए, जसलाई वासिङ्टनले ‘आर्थिक जबरजस्ती’ भनेको थियो।म्झौताको प्रारूप अनुसार चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात प्रतिबन्धलाई ‘कम्तीमा एक वर्षका लागि स्थगित गर्ने’ र त्यसपछि पुनः समीक्षा गर्ने सहमति जनाएको अर्थमन्त्री बेसेन्टले बताए।




































