यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्छ : महेश बस्नेत
वि.सं.२०८२ कात्तिक १६ आइतवार १५:२३
shares

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने बताएका छन् ।
भक्तपुरमा आइतबार फोर्सको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले जेनजी आन्दोलनका क्रममा रास्वपाका रवि लामिछाने प्रधानमन्त्री बन्ने लोभमा त्यही पार्टीका नेताहरू हरि ढकाल, मनिष झा र ज्वाला सङ्ग्रौलाहरूले जेल तोड्ने अभियान चलाएर समाजमा आतङ्क मच्चाउन सहयोग पुर्याएको दाबी गरे ।‘त्यो दौरानमा १४ हजार कैदी भगाइँयो, १२ सय हतियारहरू अहिले फिर्ता भएका छैनन्, लाखौँ गोली लुटिएका तथा प्रहरीका बर्दीहरू खोसिएको र चौकी आक्रमण भएका छन्’, बस्नेतले भने, ‘आज हाम्रो प्रहरी निरीह छ ।’
उनले कोही असुरक्षित व्यक्तिले प्रहरीलाई सूचना गर्दा कसैले जेनजीलाई भन्नु भन्ने र कोहीले हामीसँग केही पनि छैन भन्नुपर्ने अवस्था आएको बताए । बस्नेतले भने, ‘प्रहरीको मनोबल गिराउन बाले शाहका गलत हर्कत गर्ने टिमको प्रतिरोध गर्दै यूथ भोलेन्टियर्स फोर्सले नेपाल प्रहरी र प्रशासनको मनोबल उठाउने कुरामा भूमिका खेल्छ ।’उनले यो फोर्स नर्मल स्वयंसेवक नभएको भन्दै कालापानी र लिम्पियाधुरा समेत पुग्ने भन्दै लुटेराहरुलाई समातेर प्रहरीलाई बुझाउने बताए । ‘परिआए ट्याक्टरको पछाडि बाँधेर भएपनि यसले प्रहरीलाई पुर्याउँछ’, बस्नेतले भने ‘प्राकृतिक विपत्तिमा पनि यसले सहयोग गर्छ ।’ फोर्स एमाले निकट युवा संघको स्वयंसेवक दस्ता हो ।






































