समाजवादीका नेताहरू आज बसेको सो पार्टीको सचिवालय बैठकमा अनुपस्थित
वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:१२
shares

काठमाडौँ । माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू आज बसेको सो पार्टीको सचिवालय बैठकमा अनुपस्थित भएका छन् ।
पार्टी एकताबारे छलफल गर्न आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहभागी नभएका हुन् ।नेता जगनाथ खतिवडाले आजको सचिवालय बैठकमा खनाल र भुसाल दुवै नेता सहभागी नभएको जानकारी दिए ।
‘सम्मानित नेता खनाल रुघाखोकी लाग्यो भनेर आउनुभएन । महासचिव भुसालले केही नभने पनि उपस्थित हुनुभएन’, खतिवडाको भनाइ छ । सचिवालय बैठकले कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता घोषणा गर्ने निर्णय गरेको खतिवडाको भनाइ छ ।अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष माओवादीसँग पार्टी एकता गर्न तयार भएपछि खनाल र भुसाल केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै अलग पार्टी गठन गर्ने तयारीमा छन् ।
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता घोषणा गर्ने तयारी छ ।




































