देशमा स्थायित्व र सुशासन कायम गर्न सबै तहका सरकारबिच सहकार्य आवश्यक : प्रधानमन्त्री सुशीला कार्की
वि.सं.२०८२ कात्तिक १६ आइतवार २१:३९
shares

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले देशमा स्थायित्व र सुशासन कायम गर्न सबै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताएकी छन् ।
आइतबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, “हामी राजनीतिक नेता होइनौँ, परिस्थितिले यहाँ ल्याइपुर्यायो। भदौ २३ गते अघिसम्म यस्तो परिस्थिति आउला भन्ने अनुमान पनि थिएन ।”उनले जेनजी आन्दोलनको उद्देश्य सुशासन, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्तिको स्वतन्त्रता फुकुवा बताउँदै अहिले त्यसका मागहरू फरक–फरक दिशामा फैलिन थालेको उल्लेख गरिन् ।
उनले आन्दोलनमा संलग्न युवाहरूलाई देशका छोराछोरीको रूपमा लिएर सकारात्मक दृष्टिकोण राख्न आग्रह गरिन् । “कतिपयले परिपक्व कुरा गर्छन्, हामीले भन्दा बढी जानेका छन्,” प्रधानमन्त्रीले भनिन् ।प्रधानमन्त्री कार्कीले संविधानको परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै भनिन्, “मुलुक हाम्रो हो, हामीले नै सुधार्ने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन ।”निर्वाचनलाई सरकारको मुख्य प्राथमिकता बताउँदै उनले स्थायित्वका लागि निर्वाचित सरकार आवश्यक रहेको दोहोर्याइन् ।
“निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्,” उनले भनिन्,“स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि अब दल खोलेर चुनावमा आउँदै छन्। जेनजीहरूलाई पनि आफ्ना एजेन्डा लिएर जनताबाट अनुमोदन लिन प्रोत्साहित गर्नुपर्छ।”प्रधानमन्त्रीले सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै प्रहरीका लागि आवश्यक सवारी साधन खरिद प्रक्रिया अघि बढिसकेको र छिमेकी मुलुकहरूले सहयोगको प्रतिबद्धता जनाएको बताइन् ।आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले नै पुनर्निर्माण गरेको उल्लेख गर्दै उनले त्यसले प्रहरी–जनताको सम्बन्ध मजबुत बनाएको बताइन् ।
चुनावका तयारीबारे उनले भनिन्,“निर्वाचन आयोगलाई चाहिने १२० सामग्रीमध्ये ९० प्रतिशत तयारी भइसकेको छ। बाँकी व्यवस्थापन हुँदै छ।” आयोगले तोकिएकै मितिमा चुनाव गर्न सकिने विश्वास दिलाएको पनि प्रधानमन्त्रीले बताइन् ।उनले लुटिएका हतियारहरू फेला पर्न थालेको र भागेका कैदी फर्किन थालेको जानकारी दिँदै सुरक्षा स्थिति सुधारोन्मुख रहेको बताइन् ।प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताउँदै भनिन्,“प्रदेश र स्थानीय सरकारसँग मिलेर अघि बढ्छौँ। अबको छलफल स्थानीय प्रतिनिधिहरूसँग गर्नेछौँ।”




































