अमेरिकी राष्ट्रपति ट्रम्पको भाषण काटछाट गरेको आरोप पछि बीबीसीका महानिर्देशक र समाचार प्रमुखले दिए पदबाट राजिनामा
वि.सं.२०८२ कात्तिक २४ सोमवार ०८:३८
shares

लण्डन । बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले एकै दिन राजीनामा दिएका छन्। एक ‘पानोरमा’ डकुमेन्ट्रीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन गरी दर्शकलाई भ्रममा पारेको भन्ने आलोचनापछि दुवैले पद छाडेका हुन्।
पाँच वर्षदेखि महानिर्देशकको भूमिकामा रहेका डेभीले पछिल्लो समय बीबीसीमाथि लाग्दै आएका पक्षपात र विवादहरूको कारण बढ्दो दबाबको सामना गरिरहेका थिए। सोमबार ‘द टेलिग्राफ’ ले सार्वजनिक गरेको आन्तरिक बीबीसी मेमोमा पानोरमा कार्यक्रमले ट्रम्पको भाषणको दुई भागलाई जोडेर जनवरी २०२१ को क्यापिटल हिल दङ्गालाई प्रोत्साहन गरेको देखिने गरी प्रस्तुत गरेको उल्लेख थियो।
आइतबार साँझ राजीनामा घोषणा गर्दै डेभीले भने, ‘मैले अन्तिम जिम्मेवारी लिनुपर्छ।’ टर्नेसले पनि पानोरमा विवादले ‘बीबीसीलाई क्षति पुर्याएको’ भन्दै राजीनामा दिँदै भनिन्, ‘अन्तिम जिम्मेवारी ममाथि आउँछ।’ बीबीसीको इतिहासमा महानिर्देशक र समाचार प्रमुखले एकै दिन राजीनामा दिनु अभूतपूर्व घटना हो। बेलायती राजनीतिक नेताहरूले यो राजीनामापछि बीबीसीमा परिवर्तन आउने आशा व्यक्त गरेका छन् भने ट्रम्पले यस निर्णयको स्वागत गरेका छन्।




































