मतदानका दिन कुन-कुन सवारी साधन चल्न पाउँछन ?
वि.सं.२०८२ फागुन १४ बिहीवार ०८:४६
shares

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन सवारी साधन सञ्चालन सम्बन्धमा आवश्यक निर्णय गरेको छ।
अत्यावश्यक सेवाअन्तर्गत पर्ने एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका सवारी साधन र सुरक्षा निकायका गाडीहरूलाई मतदानको दिन चल्न कुनै अवरोध हुने छैन। त्यसैगरी, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत र दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधनहरू पनि सञ्चालन हुन पाउनेछन्। कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि आयोगले सञ्चालनको अनुमति दिएको छ।
हवाई मार्गबाट यात्रा गर्ने यात्रीहरूको सुविधाका लागि आयोगले विशेष व्यवस्था गरेको छ। मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालन हुनेछन्। विमानस्थलसम्म जानुपर्ने वा विमानस्थलबाट घर वा होटलसम्म फर्कनुपर्ने यात्रीहरूले आफ्नो हवाई टिकट देखाएर निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउनेछन्।





































