एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
वि.सं.२०८३ वैशाख २६ शनिवार ११:२९
shares

काठमाडौं । नेकपा (एमाले) पुनर्जागरण अभियानले पार्टीको केन्द्रीय कार्यालय आफ्नै जग्गामा निर्माण गर्न माग गरेको छ ।
अभियानले शुक्रबार एक वक्तव्य जारी गर्दै काठमाडौंको बल्खुस्थित मदननगरमा रहेको एमालेको आफ्नै जग्गा पार्टीको ऐतिहासिक, भावनात्मक तथा संगठनात्मक विरासतसँग जोडिएको उल्लेख गर्दै सोही स्थानमा केन्द्रीय कार्यालय निर्माण गर्नुपर्ने बताएको हो ।लामो समयसम्म उक्त स्थानमा पार्टी कार्यालय सञ्चालन भएको, पार्टी सदस्यहरूको योगदान जोडिएको तथा लाखौँ कार्यकर्ता र शुभेच्छुकको भावना गाँसिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै, अभियानले एमालेको इतिहास, विरासत र संगठनात्मक पहिचानसँग प्रत्यक्ष सम्बन्ध रहेको आफ्नै जग्गा हुँदाहुँदै निजी तथा सार्वजनिक सम्पत्तिमा कार्यालय सञ्चालन गर्नु उपयुक्त नदेखिएको जनाउँदै यसले पार्टीको आत्मनिर्भरता, संस्थागत गरिमा र सार्वजनिक छविमा समेत नकारात्मक प्रभाव परेको दाबी गरेको छ ।बल्खुस्थित मदननगरको जग्गा प्राविधिक, भौगोलिक, ऐतिहासिक तथा भावनात्मक दृष्टिले केन्द्रीय कार्यालय निर्माणका लागि सबैभन्दा उपयुक्त रहेको अभियानले बताएको छ ।
साथै, अभियानले २०७९ असार २४ गतेदेखि सञ्चालन हुँदै आएको ‘आत्मनिर्भरताका लागि ५००० बाट ५००० राष्ट्रिय अभियान’बाट जुटेको आर्थिक सहयोगको सदुपयोग गर्दै निर्माण कार्य अघि बढाउन आग्रह समेत गरेको छ ।





































