बाग्मतीमा मुख्यमन्त्री फेरिने चर्चा, होला बहादुर लामाकाे ‘रिइन्ट्री’
वि.सं.२०८३ वैशाख २६ शनिवार १२:४२
shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा शुरु भएको छ। गत साउन २० गते मुख्यमन्त्री बनेका इन्द्र बहादुर बानियाँलाई हटाएर बहादुर सिंह लामालाई पुनः मुख्यमन्त्री बनाउने तयारी थालिएको चर्चा शुरु भएको हो।
गत साउनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा तत्कालीन मुख्यमन्त्री लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो।
गत भदौंमा जेनजी आन्दोलन पश्चात फेरिएको राजनीतिक समीकरण र नेपाली कांग्रेसको बिशेष महाधिवेशनले आधिकारिता पाइसकेको अवस्थामा बिशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका लामालाई मुख्यमन्त्री बनाउने गरी तयारी थालिएको स्रोतले बतायो।
विगतमा मुख्यमन्त्री रहेका लामालाई जसरी पदबाट हटाउन भूमिका खेले, अहिले त्यसरी नै लामाले बानियाँलाई हटाएर मुख्यमन्त्री आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसका लागि लामाले नेपाली कांग्रेस केन्द्रीय स्तरका नेताहरु समक्ष लबिङ शुरु गरिसकेका छन्। हाल मुख्यमन्त्री रहेका बानियाँ देउवा निकटका हुन्, भने लामाले हालको संस्थापन गगन थापा समूहका विश्वासिला पात्र मानिन्छन्।
हाल कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित बानियाँ मुख्यमन्त्री चयन भएका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा कांग्रेसको ३७ सांसद, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
गत वैशाख २१ गते मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा समेत मारेको थियो। अवैध रूपमा सम्पत्ति आर्जन गरेर लुकाएको उजुरीपछि विभागले अनुसन्धानका लागि निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो।
स्रोतका अनुसार विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेपछि उनीसँग निकट मानिएका र शंकास्पद कारोबार गरेका व्यक्तिहरूमाथि विभागले अनुसन्धान तीव्र बनाएको हो।
बानियाँको पनि विवादास्पद व्यापारीहरुसँगको कनेक्सन भएको आशंकामा उनीमाथी आशंका गरिएको हो। यसबारेमा अनुसन्धान जारी छ। यसरी विवादमा तानिएको भन्दै उनलाई मुख्यमन्त्रीबाट बर्खास्त गर्न सहज हुने बताइएको छ।





































