गणतन्त्र कहाँ बाँकी छ र ?
वि.सं.२०७६ असार १९ बिहीवार १५:५८
shares

- राजन कार्की
गणतन्त्रका आफ्नै गरिमा, महिमा र मर्यादा हुन्छ । गणतन्त्रमा हुनुपर्ने कुनै पनि विशेषता बाँकी नरहेकाले गणतान्त्रिक नेपालमा गणतन्त्र बाँकी छ र ?
गणतन्त्रमा गण देखिनुपर्छ, नेपालमा त नेतातन्त्रमात्र देखिन्छ । गणतन्त्रमा संविधान देखिनुपर्छ, सरकारले संविधानलाई कानुनले, कानुनलाई नियमले र नियमलाई परिपत्रले काटिरहेको छ । गणतन्त्रमा विधिको शासन हुनुपर्छ, नेपालमा सर्वोच्च अदालत नै सर्वदलीय अदालत बनिसकेको छ । गणतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त अर्थात चेक एण्ड ब्यालेन्सका संवैधानिक प्रावधानहरु हुन्छन्, नेपालमा राजनीतिक, प्रशासनिक र आपराधिक समुहहरुवीच सेटिङ र भागशान्ति जयनेपाल चलिरहेको छ । कहाँ छ गणतन्त्र ?
गणतन्त्रमा गणको आवाज सुनिन्छ, गणको इच्छा आकांक्षा र आदेशको पालना हुन्छ । जनताप्रतिको जिम्मेवारी रहन्छ । सबैभन्दा ठूलो कुरा घोषणापत्र अनुसार काम भयो भएन, जनताको कुरा सुनियो सुनिएन, आफूले गरेका निर्णय र नीतिगत भ्रष्टाचारमा समेत जवाफदेहीता हुन्छ, नेपालमा भ्रष्टाचार र अनियमितता व्याप्त छ, जवाफदेहीता कसैमा पनि छैन । अनि कहाँ छ गणतन्त्र ?
गणले मतदान गर्नुमात्र गणतन्त्र हो ? राजनीतिक व्यक्ति वा पार्टीले चुनाव जित्नुमात्र गणतन्त्र हो ? चुनावको परिणामपछिका ५ वर्षमा के के गर्ने, के के नगर्ने, राष्ट्र र मतदाता गणप्रतिको उत्तरदायित्व हुन्छ कि हुन्न ? केही पनि देखिदैन त, कसरी गणतन्त्र छ यहाँ श्र
सिंहदरवार गाउँसम्म पुग्यो । सिंहदरवार भनेको सिद्धान्तहीनता, नैतिकहीनता हो भने सिंहदरवार गाउँसम्म पुगेकै छ । सिंहदरवार भनेको सुशासन हो, सेवाग्राहीप्रतिको संवोधन हो, गणको हक गणसम्म पु¥याउने प्रावधान अर्थात विकेन्द्रीकरण हो भने सिंहदरवार गाउँसम्म पुगेकै छैन । सिंहदरवारको भ्रष्टाचारको विकेन्द्रीकरण भएको छ, भ्रष्टाचारी सिंहदरवार गाउँसम्म पुगेको हो । पुगेको छ । त्यस्तो सिंहदरवार गणले खोजेका होइनन् । गणप्रतिको सम्मान गर्नसक्ने सिंहदरवार गाउँपालिकासम्म किन पुगेन ? यसकारण नेपालमा गणतन्त्र छैन ।
हो, छ । ७६१ सरकार बनेको छ । संघीय गणतान्त्रिक लोकतन्त्रमा ती सबै सरकार देखिन्छन् । सरकार भनेको पार्टीका कार्यकर्ताको हैकम हो भने त्यो पनि देखिन्छ । कार्यकर्ता पाल्ने प्रविधि हो भने प्रष्टै देखिन्छ । गजब त के छ भने प्रधानमन्त्री रोजगारी कार्यक्रमको डम्फु फुकियो, घाँस उखेलेर अर्व सकियो । घाँस उखेल्ने काम पनि नेकपाको कार्यकर्ताले मात्र पाए । यही हो गणतन्त्र भने, नेपालमा गणतन्त्र छ । यस्तो गणतन्त्र आमनागरिकका लागि करको भार भएर आएको छ । गणले राहत खोजेका हुन् कि समनतापूर्ण समाज ? गणले खोजेको नपाउने र पार्टीले स्वार्थको भार थोपर्ने गणतन्त्र नेपालमा छ । त्यही गणतन्त्र चलिरहेको छ ।
यस्तो गणतन्त्रले सुखी नेपाली, समृद्ध नेपाल बनाउँछ भन्ठान्नु दिवा सपना हो । अधिकांश समय उखान टुक्का र आपूmविरुद्ध जनआक्रोसित हुनथालेपछि अरिंगाल गाली गर्छन मन्त्रीदेखि प्रधानमन्त्रीसम्म । हुँदा हुँदा अव त भारतका फिल्मी कलाकारलाई नेपालको सैनिकको समेत दुरुपयोग गरेर आइफा नामको रत्यौली खेल्न दिने भनेर प्रधानमन्त्रीले निर्णय गरेछन् । कारण उनी केही मुम्बईका कलाकार मित्र रहेछन् । उनले बचन दिएका रहेछन् । देशको प्रधानमन्त्रीले अर्व खर्च गरेर हिरो हिरोइन नचाउन बचन दिने कि चुनावमा दिएको वचन पूरा गरेर गणको सम्मान गर्ने ? यस्तो सरकार पनि गणतान्त्रिक सरकार हुन्छ । यसकारण नेपालमा गणतन्त्र छैन । गणतन्त्र मरिसक्यो । बाँचेको नेतातन्त्र हो, नेतातन्त्रले लखनौं लूट मच्चाएको छ, गण लुटिएका छन् ।
जसले आफूलाई लोकनेता भन्छन्, ती सबै म्याद सकिएका ओखती भए । म्याद सकिएका ओखतीले न काम गर्छ, न रोग निको हुन्छ । उल्टै साइड इफेक्टको खतरा, महामारी फैलिने जोखिम । नेपालको लोकतन्त्र यही जोखिममा बाँचेको छ । नेपाली जनता यही जोखिम बोकेर हिड्न बाध्य भएका छन् । अव त सुखका दिन आउलान्, नयाँ नेपालमा बाँच्न पाइएला भनेको त लोकनेताहरुले जनताको संवेदनासँग खेल्नुसम्म खेले । देशको उन्नति र जनताको खुशहाली ल्याउलान् भनेको त जनतालाई लुट्नु र लुटतन्त्र चलाउनु राजनीति र प्रशासनको प्राथमिक काम पो हुनपुग्यो ।
यसकारण लोकतन्त्रले नोज डाइभ ग¥यो, संविधानले काम गर्न सकेन, दुर्घटनामा प¥यो । लोकतन्त्रले सबैलाई मिलाएर अघि बढ्नु पर्नेमा राष्ट्रिय एकता तितरबितर पो पारिदियो । ०४६ साल पछि बहुदलीय समाजवादी शासनले समाजलाई संवोधन गर्न सकेन र फेल भयो । समाजवाद बोकेको नेपाली कांग्रेसले राजाको हातमा लगेर शासन सुम्पियो । शाही शासन निरंकूश भयो भनेर जनवादी र समाजवादी मिलेर झुकाए । मरेको संसद व्यूँताइदियो राजतन्त्रले । राजाबाट सपथ खाएको समाजवादी कांग्रेसी सरकारले राजतन्त्र फालेर जनवादीको हातमा सत्ता सुम्पियो ।
२०६३ सालपछि प्रजातन्त्रलाई लोकतन्त्र भनियो । बसन्त परिवर्तन भनेर झ्याली पिटियो । कम्युनिष्टको हातमा शासन पुगेपछि यो १३ वर्षमा १० सरकार बन्यो । १० मा पनि प्रचण्ड र ओली दुई दुई पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एक एक पटक, प्रचण्डको सिफारिसमा खिलराज रेग्मी एकपटक र आलोपालो मिलाएर सुशील र देउवा एक एक पटक प्रधानमन्त्री बने ।
जसरी पञ्चायतको जिम्मेवारी कुनै पञ्चले लिएनन् र विषको प्याला पिउन राजा वीरेन्द्र बाध्य भएका थिए, त्यसैगरी शाही शासनको १४ महिनामा जसजसले राज्यसत्तालाई उखु बनाएर चुसे, तिनले पनि कुनै जिम्मेवारी नलिदा राजा ज्ञानेन्द्रले नीलकण्ठ भएर अर्धचेतावस्थामा बाँच्नु परेको छ । जसले इमानलाई त्याग गर्छ, उसलाई धोखेवाज भनिन्छ । ०४६, ०६३ र ०६५ को परिवर्तनमा जसजसले राज्यलाई धोखा दिए, ती धोखेवाज हुन् । लोकतन्त्रको १३ वर्षमा क्रान्तिकारी, परिवर्तनकारी भनिएका नेताले देश र जनतालाई धोका दिए, धोका दिइरहेका छन् ।
राजनीतिमा जो अग्ला र होनहार भनिएका थिए, ती सबै धोखेवाज हुन् । लोकतन्त्रले नेपाललाई उज्यालो बनाउने छ, लोकशासन आउनेछ भन्ने नेताहरु समाजवादी हुन् कि जनवादी, ती सबै असफल भएका छन्, ती सबै धोखेवाज हुन् । यो धोखेवाजहरुको शासनकालमा सबैभन्दा ठूलो धोखेवाज कम्युनिष्ट हुन्, जसले सर्वहाराको राज्यसत्ता आउँछ भनेर जनक्रान्ति गरे र सत्ताका लागि त्यो जनक्रान्तिलाई दिल्लीको १२ बुँदे सम्झौतामा बिसाएर सत्तासीन हुनपुगे, ०६५ सालपछि ८ पटक कम्युनिष्टको शासन चलिसक्दा पनि जनताले राहत, सन्तोष र शान्तिको श्वास फेर्न पाएनन्, यो धोखा नभए के हो ?
आइन्सटाइनको एउटा किस्सा छ । आइन्सटाइन वैज्ञानिक बनेपछि उनको ठूलो चर्चा भयो । एकदिन एउटा विद्यार्थीले सोध्यो– आज सारा संसार तपाईको प्रशंसा गर्छन् । आइन्सटाइन महान भन्छन् । चर्चा पाउने र महान बन्ने मन्त्र चाहिं के हो ?
आइन्सटाइनले जवाफ दिए– बाबु, ठूलो कुरो लगन हो । मलाई हिसाव आउन्नथ्यो । परीक्षामा फेल हुन्थें, सबै गिज्याउँथे । मैले मनमनै विचार गरें, ममा के कमी छ ? म हिसाव पढ्न सक्छु भनेर बारम्बार प्रयास गरें । आखिर मैले विज्ञानमा सफलता हासिल गरें । लगन सफलताको सबैभन्दा ठूलो मन्त्र हो । तिमीहरुले लगन नछाड्नु ।
हाम्रा परिवर्तनका बाहक भनिएका नेताहरुले लगन छाडेनन्, लुट्ने लगन । भन्ने जनताको सेवा, राष्ट्रवाद, चलाउने लुटतन्त्र । यसरी लोकतन्त्र दुर्घटनामा परिसकेको छ ।
ब्रम्हनालमा पुगिसकेको लोकतन्त्र ज्यूँदो छ भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो । सत्य के हो भने लोकतन्त्रको जिवन्तता मरिसक्यो । ढुकढुकी बाँकी होला, त्यसले देशको खुशहाली ल्याउन सक्दैन ।
लोकतन्त्रमा लोक कतै देखिदैनन्, जे देखिन्छ, जता पनि पार्टी, कार्यकर्ता, भ्रष्टाचारमात्र देखिने र लोक नदेखिने, व्यक्ति देखिने विवेक नदेखिने यो लोकतन्त्र हो कि काञ्जी हाउस ?



































