आज ७४ औं स्थापना दिवस, कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै
वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:१९
shares

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथली बाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यी कार्यक्रमहरु दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा हुने छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको जनाएको छ ।जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी लगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
२०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा बलियो छाप पारेका थिए । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्व समेत गरे । तर जनअपेक्षा अनुसारका काम हुन नसकेको गुनासो व्याप्त छ । गैरकम्युनिष्ट चरित्र भएको भन्दै नेताहरु समेत आलोचित छन् ।




































