अर्को परिवर्तन हुन्छ, जनताबाटै निस्कन्छ नेतृत्व
वि.सं.२०७८ असार ३ बिहीवार १५:४७
shares

राजन कार्की
मात्र गणतन्त्र र लोकतन्त्रको गाईजात्रा देखिन्छ । व्यवस्थित गर्ने कर्तव्य सम्झेर देखिनु पर्ने राजा देखिदैनन्, देखिनुपर्ने सेना देखिदैन । मात्र कुशासन देखिन्छ । कुशासनले यति ठूलो परिवर्तनको अर्थ र औचित्य किनारा लगाइदियो ।
संविधान फेल भयो, संसद अर्थहीन भयो, नेतृत्व चुक्यो, नागरिक समाजले बाटो बिरायो । पद्धति असफल भएर देश समाप्त हुँदैन । हो, असफल मुलुकका विशेषताहरु बढेका छन् । तर जनता असफल छैनन् । जनतामा चेत छ, राजनीति छ, प्रशासन छ, यही चेतबाट देशभक्ति टुसाउनु पर्छ । देशलाई उचाल्ने नेतृत्व यही समाजबाट जन्मनुपर्छ । जन्मिन्छ, किन ढिलो भइरहेको भन्नेमात्र प्रश्न हो ।
विदेशीहरुले जतिसुकै ¥याल काढे पनि, स्वदेशी नेताहरु जतिसुकै विदेशीका भरिया बने पनि आमनागरिकमा देशप्रतिको अगाध भक्रि छ । त्यो देशभक्तिले देश बचाउँछ, यो असफल नेतृत्वलाई किनारा लगाएर सक्षमलाई अगाडि ल्याउँछ । प्रतिक्षा त्यही साइतको छ ।
धर्मो रक्षति रक्षत मान्ने हो भने अव कोर्टमार्शलको अवतार चाहियो । नेतृत्व क्षमता यसरी चुहिएर, तुहिएर, खिइएर पतनमार्गमा छ कि यो पतनलाई रोक्न सकिएन भने देशको अस्तित्व नै समाप्त हुनसक्छ ।
जब लोकनेतृत्वले लोकको रक्षा गर्न छाडेर बत्तीमा पुतली होमिएझैं ज्यान फाल्छन्, तव त्यो पद्धतिले काम गर्दैन । नैतिक पतन भएको नेतृत्वले संविधान बोक्दैन, लोकलज्जाको कुनै सीमा उल्लंघन बाँकी रहदैन । सत्य युगमा असुरहरूको यस्तै चाला हुँदा भगवानले अनेक अवतार लिनुपरेको थियो, धर्मको रक्षा गर्नुपरेको थियो । नेपालको वर्तमान कालखण्डमा नेतृत्वमा असुर सवार छ, त्यसैल जो सरकारमा छ उसले जनतातिर हेर्न सकेन । जो संसदमा छ, उसले जनादेशको मर्यादा राख्न सकेन । जो ठूला पार्टी हुन्, तिनले सत्तामात्र हेरे । जो नागरिक अगुवा ठान्छन्, उनीहरु पनि पार्टीका पिछलग्गु बन्न पुगे । यसैको सार दृश्य हो– जनता ज्यूँदै मरिरहनु, मरेपछि पनि दुःख झेल्न पर्नु । यस्तो दृश्य भनेको राजनीतिक अधर्म हो । यो अधर्मलाई रोक्न र राजनीतिक धर्म स्थापनाका लागि कोर्टमार्शलको कुनै विकल्प छैन ।
कोर्टमार्शल सेनाले मात्र गर्ने होइन । जनताले पनि गर्न सक्छन् । परम्परागत शक्तिले पनि गर्न सक्छन् । जसले गरे पनि जनताले खोजेजस्तो न्याय स्थापनाका लागि गरिने कार्य धर्मयुद्ध नै हो । नेपाल कोर्टमार्शल धर्मयुद्धको मैदानमा पुगिसकेको छ । हार अस्तित्वको बिनास हो, जीत जनताको खोजेको विधिको शासन हो । जिम्मेवारी र जवाफदेही शासन हो ।
जब जब असुरहरू बढ्छन्, धर्म विनास गर्न थाल्छन्, तव तव सत्य युगमा भगवानले अनेक अवतार लिने गर्थे । अहंकार, हिंसा, अन्यायको बिनास र धर्मको रक्षाका लागि विष्णुले १० अवतार लिएको बृतान्त हिन्दुशास्त्रहरुमा पाइन्छ ।
मत्स्य, कछुवा, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की अवतारहरु सत्यको स्थापना, अहंको बिनास, हिरण्याक्ष, हिरयण्यकश्यपु, अहंकार, लोभ–पाप, शकुनीको जस्तो जालझेल, विकृति र अशान्तिबाट शान्ति र अतिशयोक्तिबाट समानताका लागि भगवानले अवतार लिएका हुन् ।
सत्य, त्रेता, द्वापर थियो थिएन, कलीयुग हो होइन, शास्त्रास्त गर्न सकिन्छ तर निष्कर्ष एउटै हो– अतिचारको अन्त, समानता र शान्ति । यो शताब्दीलाई बिधिको शासन, मानवाधिकारको युग भनिएको छ, यो अत्याचारको अन्त र शान्ति तथा समृतिको खोजका लागि हो । लोकतन्त्र लोकावतार मान्ने हो भने अव लोकावतारले बढ्दो हिंसा, अपराधिकरण, पापाचार, दूराचारको अन्त्य गर्नुपर्छ । एकथरि निरंकूशताको अन्त्य गर्न लोकावतार त देखियो, लोकतन्त्र आयो पनि, निरंकूशताको अन्त हुनसकेन, झन बढ्यो । लोकतन्त्र न्यायको बधशाला पो बन्नपुग्यो । असली लोकावतार कहिले हुने हो ?
महर्षि वेदव्यासले जीवन र जगतको निष्कर्ष निकाल्दै भनेका थिए– १८ पुराण पढेर मैले दुई कुराको ज्ञान पाएँ । पहिलो परोपकार गर्नु धर्म हो, दुःख दिनु पाप हो ।
प्रजातन्त्र भन्नु नै आफू र आफ्नो समाजको भार काँधमा बोक्नु हो । त्यही प्रजातन्त्रको नाम आजकल लोकतन्त्र भएको छ । नाम फरक होस्, उद्देश्य एउटै हो– स्वराज, समानता र सम्प्रभुता । जुन वर्तमान नेपालमा स्यालको सिङ् बन्नपुगेको छ ।
प्रजातन्त्रको यस परिभाषामा हेर्ने हो भने लोकतन्त्र असफल भइसक्यो । दही मथे न घीउ आउँछ, फोहर मथेर भाइरसमात्र बढ्छ । लोकतन्त्र फोहर थुपार्ने कन्टेनर जो बनेको छ । शुद्धिकरण र निर्मलीकरण भएको छैन । लोकतन्त्र सेतो कपडा हुनुपथ्र्यो, जहाँ सानो सानो दाग पनि देखियोस् । हाम्रो लोकतान्त्रिक पद्धति नाममा सिमित छ, कालाम्मे भएर सेता भाग नै छैन । यो स्थिति भनेको लोकतन्त्रभित्र बिधि बस्न नसक्नु हो । अर्थात अराजक तन्त्र बन्यो लोकतन्त्र । देउताको विश्वास भए न पूजा हुन्छ, लोकतान्त्रिक फाँट हेरौं, अनियमितता र अविश्वासको ढुङ्गे बगर मात्र देखिन्छ ।
ढुंगामा प्राण प्रतिष्ठा भएपछि देउता हुने हो । लोकतन्त्रमा लोक विश्वास नै छैन, अनि कसरी राजनीतिक देउता लोकजीवनमा देखिन्छ, आस्थामा भेटिन्छ ।
कुनै क्षेत्रमा कसैले जनताप्रतिका जिम्मेवारी बहन गरेनन् । जनयुद्धका प्रतिवद्धता के के थिए ? जनआन्दोलनमा कुन कुन आश्वासन दिइएको थियो ? दुई दुई संविधानसभा र संविधान जारी भएपछिको आमनिर्वाचनमा जारी पार्टी घोषणापत्रहरुमा पार्टी र नेताहरुले के के कबुलियत गरे ? ती बाचा, माँग, प्रतिवद्धता, कबुलियत एउटा पनि पूरा हुनसकेनन् । न गर्नेले कारण खुलाएर देशसँग क्षमा माँगे, न जनताले नै खोई तिम्रो प्रतिवद्धता भनेर सोध्नसके ?
पित्तल भए पनि पहेँलो देखेपछि सुनै हो भन्ने गलत प्रचलन छ राजनीतिमा । गिलोजति सबै हलुवा हुँदैन भनेर बुझेका छन्, जनता लाटा छैनन्, तर पार्टीका कार्यकर्ता बढी र जनता कम भएकाले बुझे पनि निष्कर्ष देखिदैन ।
मरे जनता, पीडा जनताले भोगे । हाहाकार जनतालाई भयो, बाँच्ने चुनौती जनताले सहिरहेका छन् । हिँडेको शान्ति र सम्पन्नतातिर, १४ वर्षपछि पनि घुम्दैफिर्दै रुम्जाटारमै । भ्रम र आश्वासनमात्र दिने, जनताको शोषण गरिरहने, यो मानवीय कि राक्षसी प्रवृत्ति, कुन हो ? मानवीयता देखिदैन, आसुरी प्रवृत्तिले समृद्ध नेपाल, सुखी नेपाली भइँदैन । समयले हरेकका सामु सक्ष प्रश्न खडा गरेको छ ?
पञ्चायतविरुद्ध प्रजातन्त्र र परिवर्तनको नारा बोकेको लोकतन्त्रकका लागि वर्तमान कालखण्डका सबै नेताहरु लडेका हुन् । सत्ता परिवर्तनमा सफल भए, जनस्तर परिवर्तनमा तात्वीक परिवर्तन केही पनि गर्न सकेनन् । स्वार्थमा लटपटिदा नेताहरु असफलता र अयोग्यताको सिकार भइरहेका छन् ।
जनताले जसलाई कोर्टमार्शल गर्नुपर्ने हो, तिनीहरु जनताकै शासनाधिकारी बनेर जनाधिकारमाथि नै कब्जा जमाइरहेका छन् ।
लेण्डुपले सन १९७५ मा देशलाई भारतको पोल्टामा हाल्ने नकाम गरे । जयचन्दले आफ्नै शासक पृथ्वीराज चौहानलाई हराउन हमला गर्न आएका महमद गोरीलाई देशको पस्ने ढोका खोलिदिएर सघाए । आज ठूला पार्टीहरू विदेशीका भरिया बनेका देश्यहरू सतहमा देखिन थालेका छन् । कतै यिनै नेताहरुले हामीलाई धोका दिएर स्वाधीनताबाट पराधीन बनाइदिने त होइनन् ?
































