कांग्रेसको सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय
वि.सं.२०७९ भदौ १८ शनिवार ०७:५२
shares

धनगढी ।नेपाली कांग्रेसले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टी सँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए ।उनका अनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको गठबन्धन गर्ने निर्णयको स्वागत गर्दै स्थानीय तहको निर्वाचनमा जसरी गठबन्धनमा आवद्ध दलहरु मित्रवत् प्रतिस्पर्धा गरेर अगाडि बढ्यौं यसरी नै प्रदेशसभा र प्रतिनिधिसभामा समेत अलग-अलग निर्वाचन लड्ने निर्णय गरेका छौं’ चटौतले भने, ‘अलग-अलग निर्वाचन लड्नका निमित्त प्रदेश र केन्द्रीय कार्य समितिलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’
कांग्रेसको यो निर्णयपछि गठबन्धनमा आवद्ध अन्य दलले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायरको गृह जिल्लामा डोटीमा समेत जिल्ला कार्य समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

































