मेयर शाक्यलाई फोहोर उपहार
वि.सं.२०७८ भदौ १४ सोमवार १६:१०
shares

काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले आज सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।
युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका हुन ।
नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् । जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध बढिरहेको छ । यसको विरोध गर्दै आज महानगर अगाडी युथ कांग्रेस नेपालल प्रर्दशन गरेको हो ।





































