के नेम्बाङ राष्ट्रपति बन्लान त ?
वि.सं.२०७९ पुस १७ आइतवार २०:१७
shares

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गरेका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलहरूको सत्ता गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ।
राष्ट्रपति एमालेको भागमा परे सँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। उनले आफू सभामुख भने नबन्ने स्पष्ट पारेका छन्। सत्ता गठबन्धन बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने सँगै एमालेको भागमा राष्ट्रपति र सभामुख समेत परेको छ। प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको बताइएको छ।
चार पटकसम्म सभामुख भइसकेकाले फेरि सभामुख बन्न इच्छुक नरहेको नेम्वाङले पार्टीमा बताइसकेका छन्। नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन्।
‘पटक/पटक सभामुख भइसकेकाले अब मलाई त्यो पदमा जानु छैन। निर्वाचन अघि पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर हामीले भनेकाले त्यसमा मेरो दाबी हुने कुरै भएन,’ नेम्वाङले आफू निकटहरू सँग भन्ने गरेका छन्, ‘अब मेरो लागि कुन पद उपयुक्त हुन्छ भनेर मैले पार्टीमा भनिसकेको छु।’



































