प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुत्त हुन सक्दैन : पूर्व राष्ट्रपति भण्डारी
वि.सं.२०८३ असार १४ आइतवार १८:५०
shares

पूर्व राष्ट्रपति तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा राखेकी छन् ।
सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतीलाई पार्टीको आधिकारिक नीति बनाएको सन्दर्भमा पूर्व राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । उनले देशको देशको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दा उक्त शासकीय स्वरूप उपयुक्त नहुने तर्क गरिन् ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्- ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ ।’
लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत् जनमत प्राप्त गर्नुमात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले निर्वाचित भएपछि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने पनि स्पष्ट पारिन् ।लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिवद्धता नै शासन पद्धतिको सफलताको आधार हुने भण्डारीको भनाइ छ ।





































