kumari
stcnepal

रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगे

काठमाडौं ।न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार तर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजी विरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको बताए । सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने लामिछानेले बताए । ‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’ उनले भने । आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताए । उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’

न्याय माग्दै महोत्तरीको बर्दिवास बाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्च भित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए । तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको छ ।

footer