किताब र पोसाक बेच्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
वि.सं.२०७९ चैत २६ आइतवार ०९:४९
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए ।
‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाक समेत सम्बन्धित ठाउँ बाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।
मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने समेत महानगरको चेतावनी छ।


































