सामाखुशी नदी माथि बनाएको कंक्रिट ढलान सहितको संरचना धमाधम हटाउँदै काठमाडौं महानगरपालिका
वि.सं.२०८० साउन २० शनिवार ०७:२३
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सामाखुशी नदी माथि बनाएको कंक्रिट ढलान (स्ल्याब)सहितको संरचना धमाधम हटाइरहेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।
१ साउनदेखि खोला माथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । ‘सामाखुसी खोला सतह माथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्याउने छौं,’ संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् । भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोला माथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । ‘अब ५ सय मिटर जति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ,’ भट्टले भने ।
महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं,’ प्रवक्ता मानन्धरले भने ।स्थानीयहरु अहिलेसम्म ठुलो विरोध नगरेको भन्दै व्यक्तिको घर नचलाएको मानन्धरले बताए । ‘खोला बगिरहेको ठाउँमा अरु संरचना बनाउन भएन नी, व्यक्तिको सम्पत्ति छोएकै छैन, त्यसकारण अहिलेसम्म विरोधको आवाज सुनिएको छैन’ प्रवक्ता मानन्धरले दाबी गरे ।
महानगरका अनुसार खोलाको बीच भागबाट १३-१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । ‘महानगरका नदिहरु आफ्नै स्वरुपमा बगाउन यो काम सुरु गरेका हौं । खोलामा ढल नमिसाउन, छुट्टै ढल र करिडोर निर्माण गर्ने हाम्रो योजना छ, पहिलो चरणमा खोला माथिको संरचना हटाएका हौं,’ मेयर बालेन्द्र साह (बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् । उनले खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताए । स्थानीयको घर जाने बाटै बन्द गरेर महानगरले संरचना बाटो भत्काउन मिल्छ ? भन्ने प्रश्नमा लम्साल भन्छन्,’उहाँहरुले नदी किनारबाट ४ मिटर छोड्नुपर्ने जमिन छोडिदिए महानगरपालिकाले करिडोर नै निर्माण गरिदिन्छ नि, आफू गैरकानुनी रुपमा नदीबाट छोड्नुपर्ने सेटब्याक नछोड्ने अनि बाटो भएन भन्ने ?’


































