एकीकृत समाजवादीले नेतृत्व विरूद्ध सामाजिक सञ्जालमा लेख्नलाई कडा कारबाही गर्ने
वि.सं.२०८० साउन २२ सोमवार ०७:०३
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृत्व विरूद्ध सामाजिक सञ्जालमा लेख्नलाई कडा कारबाही गर्ने भएको छ । हिजो आइतबार पार्टी कार्यलय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले पार्टी र पार्टी सम्बद्ध जनसंगठनमा आवद्ध कतिपय व्यक्तिले सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने गरेको पाइएकाले त्यस प्रकारले बोल्ने र लेख्ने काम नगर्न यो बैठक निर्देशन गर्दछ । पार्टीका नीति र निर्देशनको अवज्ञा भइरहेमा पार्टी विधान अनुसार कारबाही हुने व्यहोरा स्वतः सिद्ध छ ।’ त्यस्तै बैठकले मुलुकको तराई क्षेत्रमा सुख्खा खडेरी परी धान रोपाइँ नै हुन नसकेकाले त्यस क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकार सँग माग गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले मुलुकका विभिन्न भागमा बाढी पहिरो गई जनधनको ठूलो क्षति भएकाले बाढीपहिरोबाट प्रभावित जनतालाई उद्धार र राहत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । भारत उत्तराखण्डको द्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरूको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकार सँग माग गर्ने पनि बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, मुलुकभर फैलिएको लम्पी स्किन रोगबाट ठूलो संख्यामा पशुचौपायाको मृत्यु भएर क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।




































