kumari
stcnepal

केही बैकहरुले व्याजदर घटाए केहीले बढाए

 

काठमाडौं । आज कात्तिक १देखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ ।

बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको थियो । २०७५ मंसिरमा बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएका थिए । बैंकहरुले अत्यधिक रुपमा ब्याजदर बढाएपछि त्यसबेला एकल अंकमा ब्याजदर कायम गर्ने भन्दै सीईओहरुले भद्र सहमति गरेका थिए । आजदेखि लागू भएको ब्याजदर त्यसयताकै उच्च हो ।

कात्तिक महिनाका लागि आधा दर्जन बैंकहरुले यस वर्षकै उच्च ब्याजदर सार्वजनिक गरेका छन् । अघिल्लो महिना सबैभन्दा महंगो ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंकले भने यतिबेला संयमता अपनाएको छ ।

अघिल्लो महिना सनराइजले मुद्दति निक्षेपमा अधिकतम १०.०७ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको थियो । त्यसबेला बैंकहरु मध्येको सबैभन्दा महंगो यो बैंक बनेको थियो । तर अहिले सनराइज बैंकले भने ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको छ ।
सनराइज बैंकसँगै सानिमा बैंकले पनि ब्याजदर घटाएको छ । प्रभु बैंकको ब्याजदर स्थिर देखिएको छ । सनराइज लगायतका केही बैंकहरुले ब्याजदरमा संयमता अपनाउदा हिमालयन, एनआइशी एशिया लगायतका केही बैंकहरुले भने आक्रामक रुपमा ब्याजदर बढाएका छन् ।
हिमालन बैंकको निक्षेपमा ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । उता कर्जा लगानीमा आक्रामक देखिने गरेको एनआइशी एशिया बैंकले पनि निक्षेपमा महंगो ब्याजदर घोषणा गरेको छ ।
एनआइशी एशियाले ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । यो हिमालयन पछि सबैभन्दा धेरै महंगो ब्याजदर हो । यसैगरी लक्ष्मी बैंकले ११.०५ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले १०.५५ प्रतिशत र कुमारी बैंकले १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।
निक्षेपको ब्याजदर भनेको बैंकले दिने ब्याजदर हो । तर निक्षेपको ब्याजदर बढेपछि कर्जाको समेत ब्याजदर बढ्छ । यसले उद्योग–व्यवसायको उत्पादनको लागत बढाउने र सर्वसाधारणलाई महगिको मर्का पर्ने निश्चित जस्तै भएको छ ।

footer